सर्लाहीका दुई ठाउँमा आगलागी हुँदा तीन घर जल्यो

838 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीन घर र एउटा गोठ जलेका छन् । बरहथवा नगरपालिका ११, हीरापुरका धर्मेन्द्र पासवान र होरिल हजारीको फूसले छाएका दुईवटा घर आगलागीबाट पूर्णरुपमा जलेको वडाध्यक्ष नवराज राईले जानकारी दिए । उनका अनुसार सो आगलागीबाट जगेश्वर रायको गोठ जलेको छ ।
दिउँसो चर्को घाम र हावा चलिरहेका बेला अचानक बस्तीमा आगलागी भएको हो । स्थानीय,प्रहरी र हरिवन नगरपालिकाबाट पुगेको दमकल(वारुणयन्त्र)को सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले बताए ।
घर जलेपछि अतिविपन्न धर्मेन्द्र र होरिलको परिवार बिचल्लीमा परेको छ भने आगलागीको कारण खुल्न सकेको छैन् । प्रहरीका अनुसार आगलागी दुईवटा फूसका घर र गोठ जल्दा करिब रु दुई लाख ८० हजार बराबरको क्षति भएको छ ।
 यस्तै,धनकौल गाउँपालिका ३, मा आईतबार दिउँसो भएको आगलागीबाट अतिविपन्न अनुठा महतोको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घर तथा घरभित्र रहेका सामग्री जल्दा अनुठाको परिवार पनि बिचल्लीमा परेको छ ।  यो आगलागी स्थानीय र प्रहरी भएर निभाएका छन् । प्रहरीका अनुसार धनकौलको उक्त आगलागीबाट करिब रु ६० हजार बराबरको क्षति भएको छ । 
अहिले अत्यधिक तापक्रम,गर्मी र हावाहुरीमा आगलागी भइहाल्ने जोखिम रहेकाले जथाभावी आगो नबाल्न र आगोजन्य पदार्थको प्रयोग गर्दा चनाखो हुन प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित समाचार