सर्लाहीको बागमती युवा क्लब,आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।शनिबार नवलपरासीको सुर्यनगर रंगशालामा भएको सेमीफाइनल खेलमा आयोजक नव युवा क्लब,बर्दघाट–१६,सुर्यनगरलाई १–० गोल अन्तरले पराजित गर्दै बागमती युवा क्लब फाइनलमा प्रवेश गरेको बागमती युवा क्लबका महासचिव एवम बागमती नगरपालिकाको खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा बागमती युवा क्लबका खेलाडी सृजनराज गौतमले गरेको एक गोल नै बागमती युवा क्लबको फाईनल यात्राको निर्णयक गोल बनेको हो ।
शनिबार भएको सेमी फाईनल खेलबाट फाईनलमा प्रवेश गरेको बागमती युवा क्लब फाइनलमा फागुन ७ गते नेपाल पुलिस क्लबसंग खेल्ने बागमती युवा क्लबका सचिव कुमार प्रधानले बताए ।उनका अनुसार नवलपरासी–११ लाई सेमी फाईनलमा पराजीत गर्दै फाईनलमा प्रवेश गरेको नेपाल पुलिस क्लबसंग बागमती युवा क्लब आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फागुन ७ गते हुने फाईनल खेलमा नवलपरासीको सुर्यनगर रंगशालामा आम्ने सुम्ने हुने भएको हो ।
श्री नव युवा क्लब,बर्दघाट–१६,सुर्यनगरको आयोजनामा माघ २९ गतेबाट सुरु भएको प्रतियोगितामा बागमती युवा क्लब सर्लाही,राईट लेन एजुकेशन बागमती युवा क्लब बागमती सर्लाही सहित आठ वटा टिमको सहभागिता रहेको थियो।नटआउट चरणमा भएको प्रतियोगितामा विजेता हुने टिमले उपाधिसहित नगद रु पाँच लाख हात प्राप्त गर्ने छ भने उपविजेताले नगद रु तीन लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मोफसलमा रहेर फुटबल क्षेत्रमा निकै प्रगति गरेको बागमती युवा क्लब सर्लाहीले पछिल्लो समय भएका धेरै प्रतियोगिताहरुमा ए डिभिजन लिगका केही क्लबहरुलाई समेत पराजित गरि सकेकाले नेपाल पुलिस क्लबसंग नवलपरासीको सुर्यनगर रंगशालामा भई रहेको आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फागुन ७ गते हुने फाईनल खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्ने बागमती युवा क्लबका शुभेच्छुक एवम शुभ चिन्तकहरुले अनुमान गरेका छन् ।