अन्ततः कोशीमा सरकार गठनका लागि आह्वान, २८ गते अन्तिम दिन

117 Shares

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन् । 

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभाका सदस्यलाई बहुमत प्राप्त गर्ने आधारसहित २८ गते शुक्रबारसम्म मुख्यमन्त्री दाबी पेस गर्न आह्वान गरेका हुन् । 

कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट बहुमतले विश्वासको मत लिन पारित गरेको संकल्प प्रस्तावलाई समेत थाँती राख्दै समर्थन फिर्ता लिएको ३० दिनसम्म पनि विश्वासको मतका लागि संसद सचिवालयमा निवेदन नै दर्ता नगाएको भन्दै खापुङले उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गर्ने निर्णय गरेका हुन् । 

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बुधबार राति जारी सूचनामा लेखिएको छ, 'माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपराह्न ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।'

एमाले–माओवादीले बुधबार अपराह्न नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

कांग्रेस नेता केदार कार्की पनि गत असोज २९ मा संविधानको सोही उपधाराअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । 

अब कोशीमा एमालेका हिक्मरकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको बताइएको छ । तर, मुख्यमन्त्री कार्कीले के गर्लान भन्ने विषय समे उत्तिकै अलमलमा देखिन्छ । उनी आफू संविधानको अन्तिम विकल्पमा सरकारको नेतृत्व गर्न पुगेकाले सरकार नछाड्ने दाबी गर्दै संवैधानिक रुपमा कायम रहने दाबी गरिरहेका देखिन्छन् ।

Koshi_Dabi.jpg

सम्बन्धित समाचार