केदार कार्कीको राजनीतिः जसले सत्तामा ल्यायो उसैले गलहत्यायो

148 Shares

विराटनगर । तत्कालीन सत्ता गठबन्धन (माओवादी केन्द्र, कांग्रेस, नेकपा एस) लगायत दलहरु सम्मिलित गठबन्धनले कोशीमा परिवर्तित अवस्थामा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने निर्णय गर्‍यो । कोशीमा मुख्यमन्त्री बन्ने सुरसार कस्दै गरेको माओवादीलाई कांग्रेसको संस्थापन इतर पक्षले चुनाैति दियो । 

कांग्रेस नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सदस्य केदार कार्कीलाई अघि सार्दै मुख्यमन्त्रीमा दाबी पेश गर्न लगाए । यसमा साथ थियो तत्कालीन प्रतिपक्षी नेकपा एमालेको । एमालेले समर्थन गर्ने भएपछि पार्टीको आधिकारिक निर्णयलाई चुनाैति दिदै केदार कार्कीले कांग्रेसका आठ र एमाले सांसदसहित २०७९ असोज २६ गते मुख्यमन्त्रीमा दाबी पेश गरे ।

कोशीमा मुख्यमन्त्री बन्ने पालो कुरेको माओवादी अन्ततः सत्ता नेतृत्वमा जानबाट चुक्यो भने केदार कार्की मुख्यमन्त्री बने । कांग्रेस नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डसँग लिखित सहमति नै गरेर फालेको चिर्कटो र कोइरालाले आफ्नो निर्णयले कार्की मुख्यमन्त्री बनेको भन्दै गरेको दाबी पदबाट अपदस्थ बन्ने बेला भने फेरिएको छ । 

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड कांग्रेसको इतर पक्षले चाल्ने कदम र त्योबाट सत्ता नेतृत्वमा पर्ने प्रभावका कारण दिक्क बनिसकेका थिए । उपर्युक्त माैका आउने वित्तिकै सत्ताको काँध फेर्न तयार प्रचण्डले अन्ततः केन्द्रको सत्तामा एमालेलाई ल्याएर कांग्रेसलाई आउट गरिदिए । त्यसपछि विकसित राजनीतिक घटनाक्रमले केदार कार्कीले अपदस्थ मात्रै गरेको छैन्, त्यो बेला कार्कीले गरेको विद्रोहलाई अपमानजनक ढंगले सत्ताच्यूत बन्नुपरेको तीतो यथार्थ देखिन पुगेको छ । 

संसदले संकल्प प्रस्ताव नै पारित गरेपछि उनले विश्वासको मत लिने वा राजीनामा दिने बाटो रोज्नुको सट्टा न्यायालय जाने तर सत्ता नछाड्ने अड्डी कसेपछि विकसित घटनाक्रमले उनको राजनीतिक जीवनमा संकट ल्याइदिएको छ । अदालतबाट सत्तामा पुनरागमन नै गरेपनि उनलाई जसले सत्तामा ल्याउन उक्साउने काम गरे तीनै नेताहरुले सत्ताच्यूत गर्दा भने उनको राजनीतिक जीवनमा ठूलो धक्का लागेको छ । भने केन्द्रको सत्ता समिकरणमा कांग्रेसलाई प्रतिपक्षमा पुर्‍याउने कारणमध्ये एक कारण पनि बनेको छ । यसले कांग्रेसको सत्ता राजनीतिमा नयाँ स्थिति मात्रै सिर्जना गरिदिएको छैन, उनको राजनीतिक भविष्यमाथि समेत दिर्घकालसम्म प्रश्न उठिरहनेछ । 

कार्कीलाई मुख्यमन्त्री बन्न पार्टी निर्णयलाई चुनाैति दिने स्थिति सिर्जना गराउने एमालेका हिक्मतकुमार कार्की फेरि मुख्यमन्त्री बनेका छन् । हिक्मतले सरकारको नेतृत्व लिदै गर्दा केदार सर्वोच्च आएका छन् । यस्तो अवस्थामा संविधान, संघीयता र राजनीतिक नैतिकताको कसीमा भने दुबै पात्रमाथि छलफल विमर्श भने हुने देखिन्छ । 

सम्बन्धित समाचार