काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गितेन्द्रबाबु राई 'जीबी'लाई उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नै भगाउन खोजेको आरोप लगाएको छ ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद समेत रहेका विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछानेले जीबी राई लोकेट भइसके भनेर भगाउन खोजेको हो भन्दै प्रश्न गरेका हुन् ।
जीबी राईको लोकेसन नभई जीबी नै चाहिएको भन्दै संसदमा प्रश्न गरेका शर्माले गोरखा मिडिया प्रालिमा रहँदा रविका पूर्वव्यवसायीक साझेदार अहिलेसम्म पक्राउ नपर्नुलाई आश्चार्यको रुपमा लिएको बताएका छन् ।
गृहमन्त्री लामिछानेले चितवन विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै जीबी राई मलेसियामा लोकेट भएको र उनलाई नेपाल झिकाउन मलेसियाली समकक्षीसँग छलफल चलिरहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसपछि रविले नै जीबीलाई भगाउन खोजेको आरोप लागिरहेको छ ।