आत्मानिर्भर बागमती बनाउने लक्ष्य छ : बागमतीका नगर प्रमुख थापा

3.8k Shares

सर्लाहीको बागमती नगरपालिका मधेश प्रदेशका मात्र नभई देशैभरका स्थानीय तहहरुको नमुना स्थानीय तह बनेको छ ।मधेस प्रदेशका धेरैजसो स्थानीय तहहरु आन्तरिक विवाद र अनियमितताको शृङ्खलामा अल्झिरहेका बेला बागमती नगरपालिका विकास निर्माणका कामले सधैँ चर्चामा छ ।
बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले आफ्नो सवारी साधन खरिद गर्न आएको रकमबाट ट्यांकर किनेर काकाकुल जनतालाई पानी खुवाएको विषयदेखि आन्तरीक तथा बाह्य पर्यटकहरुको पर्यटकिय गन्तव्य एक सय २१ बिघामा बागमती माछा पोखरी(भरत ताल) निर्माण,एक सय २८ बिघामा नगर बगैँचा,सुविधा सम्पन्न फनपार्क र सुविधा सम्पन्न आर्यघाट लगायतका दर्जनौँ नगर गौरबका योजना सुरु गरे पछि बागमती नगरपालिकाले सबैको ध्यान तानेको छ ।केन्द्र सरकारले नसकेको सुकुम्बासी व्यावस्थापन पनि बागमती नगरपालिकाले सहजै गरेको छ । 
संघ र प्रदेश सरकारसँग हात फैलाउनु नपर्ने अवस्थाको निर्माण गर्ने,स्थानीय नागरिकलाई रोजगारीको लागि अन्यन्त्र जानु नपर्ने बनाउने,आन्तरीक आयस्रोतबाट नगरपालिकालाई थप व्यावस्थित बनाउने,सामान्य स्वास्थ्य समस्यामा नगरबासीलाई गाउँ घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने,गुणस्तरीय शिक्षा प्रदान गर्ने आफ्नो अन्तिम लक्ष्य रहेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए ।
स्थानीय तहको पहिलो र दोस्रो दुवै निर्वाचनमा बागमती नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि अहिले विकास निर्माणको भिजन भएको,स्थानीय तहमा शुसासनको अर्काे नाम,भ्रष्टाचार अन्याय अत्याचारको विरुद्धका शतिसाल र बागमती नगरपालिकाका जनताका हरेक दुःख सुखका सारथीको रुपमा परिचित बागमती नगरपालिकाका नगर प्रमुख थापासंग कमलामाई मिडिया प्रा.लिले नगरका विकास निर्माण लगायतका विषयमा गरेको कुराकारीको सम्पादीत अंश ः 

प्र.स्थानीय तहको प्रमुख भएर दोस्रो कार्यकाल विताउँदै गर्दा तपाईँको भोगाइ र अनुभव के छ ?
हामी स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भएर आउँदै गर्दा निकै अप्ठ्याराहरु थिए । देशमै पहिलो पटक संघियताको अभ्यास गर्दै गर्दा हसरी जाने भनने विषयमा सबैतिर अन्यौलता थियो र त्यो चंगुलमा हामीपनि थियौँ ।जसका कारण पहिलो कार्यकालमा काम गर्ने विषयमा अलमल बढी थियो ।केही पनि थाहा थिएन। अहिले सबै बुझि सकिएको छ ।गाउँ–ठाउँदेखि यहाँको काम गर्ने तरिका पनि सबै थाहा भएको छ ।यसले गर्दा पनि निकै सहज भएको छ ।
पहिलो र दोस्रो कार्याकालमा पनि निर्वाचित भएपछि नगरपालिकाको आर्थिक–सामाजिक रूपान्तरण भएको छ ।विकासका धेरै कामहरूले गति लिएका छन् ।बागमती नगरपालिकाले आफ्नै स्रोत कसरी जुटाउने र आफ्नो खुट्टामा कसरी उभिने भन्ने योजना पनि बनाएको छ ।
सायद तपाईँलाई पनि थाहा होला,हामीले आफ्ना लागि सवारी साधन खरिद गर्न आएको रकमबाट हाम्रो नगरपालिकाका दुर्गम क्षेत्रका जनतालाई पानी खुवाउनका लागि पानी ट्यांकर किनेर सबै ठाउँमा पालैपालो पानी बाँडिरहेका छौँ ।अहिलेको तुलनामा ती दिन सम्झिने हो भने निकै कष्टकर थिए ।
प्र. पहिलो र दोस्रो कार्यकालको हाल सम्म तपाईँको नेतृत्वमा पालिकामा भएका विकास निर्माणका काम के–के छन् ?
हाम्रो नगरपालिकामा निर्वाचनको समयमा भोट माग्न जाँदा बाटो हिलाम्मे थियो ।कच्ची सडकहरु थिए र घुँडाघुँडासम्म पानी थियो । हातमा चप्पल बोकेर नमस्कार गर्दै भोट माग्नुपरेको अवस्था थियो ।अहिले अवस्था फेरिएको छ ।अहिले चिल्ला सडकहरुको स्थानीय तह कुन हो भन्दा सबैले बागमती नगरपालिका भन्ने गरेका छन् । नगरका सबै ठाउँमा साना तथा ठूला सवारी साधनहरु सहजै पुग्छन् । करिब सबै ठाउँमा सडक पुगिसकेको छ भने ९० प्रतिशत सडक त कालोपत्र नै भएको छ ।यसरी हेर्दा हामीले यहाँको सडक पूर्वाधार निर्माणको काम करिब सकेका छौँ ।
शिक्षाको कुरा गर्ने हो भने विगतमा नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयमा दुई हजार पाँच सय विद्यार्थी अध्ययन गर्थे भने अहिले करिब १२ हजार विद्यार्थी सामुदायिक विद्यालयमा अध्यायनरत छन् ।अहिले त अवस्था कस्तोसम्म भएको छ भने,विद्यालयमा भर्ना गर्नका लागि अभिभावकहरू भनसुन गर्न जनप्रतिनिधिहरुसंग आएपुग्ने गरेका छन् ।
नगरले करिब सात हजार चार सय सुकुम्बासीहरुको व्यावस्थापन गरेको छ । आन्तरीक तथा बाह्य पर्यटकहरुको पर्यटकिय गन्तव्य एक सय २१ बिघामा बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन अवस्थामा छ ।एक सय २८ बिघामा नगर बगैँचा,सुविधा सम्पन्न फनपार्क र सुविधा सम्पन्न आर्यघाट लगायतका दर्जनौँ नगर गौरबका योजना निर्माणाधिन अवस्थामा रहेका छन् । सयौँ स्थानीयलाई रोजगारी सृजना गरिएको छ । सामान्य स्वास्थ्य  सेवा लिनुपर्दा पनि अन्यन्त्र जानु पर्ने बागमतीबासीको बाध्यता हटेको छ । नगरबासीलाई गाउँ गाउँको सिंह दरबारको महसुस गराउने विषयमा म लगायत मेरो टिमका सबै जनप्रतिनिधिहरु तन,मन र बचन दिएर लागेका छन् । तथापी पनि काम गर्न अझै बाँँकी नै छ ।
यति मात्र होइन,भेटेरिनरी,कृषि र सिभिल इन्जिनियर गरी ३ वटा प्राविधिक विद्यालय पनि पालिकाले सञ्चालनमा ल्याएको छ ।अधिकांश विद्यालयका भौतिक पूर्वाधारहरू अहिले निर्माण भई सकेका छन् ।लोपोन्मुख राउटे जातीको बस्ती व्यावस्थापनमा भएको छ । सुकुमबासीहरुकबो पहिचान गरि हरेक घरधुरीका लागि १७ धुर घडेरी र ५ कठ्ठा जमिन नगरपालिकाले दिएको छ ।साथै उनीहरूका लागि सुकुमबासी बस्तीमै विद्यालय,खानेपानी,स्वास्थ्य संस्थाहरुका साथै सडक पुर्वाधार र विजुलीको समेत व्यावस्था गरेका छौँ ।
प्र. दोस्रो कार्यकालमा पनि नगर प्रमुख हुँदैगर्दा नगरबासीका कस्ता समस्याहरू देखिएका छन् ?
नगरपालिका भित्रका कसैलाई समस्या वा झै–झगडा कै अवस्था सिर्जना भएमा पनि हामी त्यही ठाउँमा जान्छौँ र समाधान गर्छौँ ।घरमै जाँदा के हुँदोरहेछ भने–दुवै पक्षलाई मुद्दा पालिकामा गयो,सबैले थाहा पाए होला भन्ने डर नहुने र मन पनि चाँडै मिल्दोरहेछ ।
पालिकामा सबैथरीका मुद्दा तथा समस्याहरू छन् । तर त्यसलाई हामीले समस्याको रुपमा नलिई सहज रुपमा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयलाई चासोका साथ हेरेका छौँ ।हाम्रो पालिकाको न्याय सम्पादनको विषय अन्य पालिकाको भन्दा फरक छ ।अन्य पालिकामा मुद्दा दर्ता गराएपछि समाधान गरिन्छ ।तर,हामी नगरबासीको समस्यालाई मुद्दाका रूपमा दर्ता गर्ने भन्दा पनि समाधान गर्नेतिर बढी जोड दिन्छौँ ।
करिब छ वर्षको अन्तरालमा पालिका करिब दुई सय मुद्धा दर्ता भएका होलान तर हजार भन्दा बढी मुद्धाहरु दर्ता विना नै सहजै समाधान गरिएको छ । कतिपय नगरबासीलाई पालिकासम्म आउन पनि समस्या हुने र गाउँ घरमै पुगेर समस्या समाधान गर्दा नगरबासीलाई नै सहज हुने भएकाले हामीले १२–१४ किलोमिटर टाढा भएपनि नगरपालिकाबाट उप प्रमुख सहितको न्यायिक समितिको टिम खटिएर समस्या समात्रान गरेर फर्किेने गरेको छ ।नगर भित्र सञ्चालित सबै प्रकारका योजनाहरु र कार्यक्रमहरुको अनुगमनसँग पनि जोड दिएका छौँ ।
प्र.कतिपय पालिकामा प्रमुख र उपप्रमुख तथा जनप्रतिनिधिहरु बीचको विवाद छताछुल्ल भएर बाहिर आएका छन् ।तपाईँको पालिकाको अवस्था के छ ? 
म सहित उप प्रमुख र धेरै जसो वडा अध्यक्षहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका छौँ । नगरको विकास निर्माणको क्रममा,नगरको समृद्धी र शुसासनका सवालमा हामी सबै जनप्रतिनिधिहरु एक ठाउँमा थियौँ र छौँ ।
करिब छ वर्षसम्म कुनै समस्या आएको छैन र आउँदैन् पनि ।हामी विवाद गर्न भन्दा पनि समाधान गर्न आएका हौँ ।हामी आफैँ विवाद गरेर बस्यौँ भने हामीलाई भोट दिनेहरूलाई हामीले के दिने ?यही सोचले गर्दा पनि हामीमा त्यस्तो कुनै विवादका विषय अहिलेसम्म देखापरेका छैनन् । 
उप प्रमुख तथा वडा अध्यक्षहरुलाई‘उहाँहरुको अधिकारभित्र के–के पर्छ,सोही अनुसार काम गर्नु्, म पनि मेरो अधिकारभित्रको म गर्छु।’ भनेको छु ,यसले गर्दा केही पालिकामा देखिने यस्ता विवादबाट हामी अहिलेसम्म टाढा नै छौँ ।
प्र.तपाई माथी विभिन्न किसिमका आरोपहरु लाग्ने गरेका छन् नी ? के भन्नु हुन्छ ?
आरोप लगाउन त सजिलो छ जे जे लगाएपनि भै गो तर दोषी देखिन त प्रमाणित हुनु पर्छ होला नी। तसर्थ म माथि वा बागमती नगरपालिकाका र यहाँका जनप्रतिनिधिहरु माथि लगाईएका सबै प्रकारका आरोपहरु हाम्रो टिमले गरेको विकास निर्माणको काम देख्न नसकेर छट्पटाउनेहरुले लगाएको आरोप हो जसमा कुनै सत्यता छैन् । बागमतीका जनता यस विषयमा ढुकका छन् ।
प्र.तपाईको कार्यकाल पुरा हुँदा बगमती नगरपालिकाले के–के पाउँछ ? 
एक सय २१ बिघा क्षेत्रफलमा फैलिएको बागमती माछा पोखरी(भरत ताल) निर्माण सम्पन्न गछौँ । जसबाट नगरपालिकाका बेरोजगार करिब एक हजार पाँच सय युवाहरुले रोजगारी पाउँछन् भने नगरको आन्तरीक आयस्रोत बढ्छ । नगर बगैँचाले उत्पादन दिन थाल्छ र त्यहाँपनि केही मानिसहरुले रोजगारी पाउनुको साथै नगरको आन्तरीक आयस्रोत बढ्छ ।
कृषि क्षेत्रमा आलु,तरुल,मकैलगायत कृषि उत्पादनलाई बढावा दिँदै अन्न भण्डारण निर्माण हुन्छ । पालिकाको आन्तरिक आयस्रोत बढाउन पालिकाकै लगानीमा बागमती फनपार्क निर्माणाधिन अवस्थामा र त्यो निर्माण पुरा हुन्छ ।

सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर पुर्णरुपमा सुध्रन्छ र नगरमा भएका विद्यालयहरुको रहेको योग्यता सम्म पढ्न अन्यन्त्र तथा नीजि विद्यालयहरुमा जानु पर्ने अवस्थाको पुर्णरुपमा अन्त्य हुन्छ । स्वास्थ्य क्षेत्रको सुधार हुँदैछ । यो पुरा हुन्छ ।बागमती नगरपालिकालाई आफ्नै खुट्टामा उभ्याउने र संघ र प्रदेशसँग हात फैलाउनु नपर्ने अवस्थाको निर्माण गर्नु नै हाम्रो अन्तिम लक्ष्य हो ।हाम्रो बाँकी कार्यकाल पनि यसै काममा लगाउँने छौँ ।

सम्बन्धित समाचार