रक्षा हेल्थ केयर प्रा.लि बन्द गर्ने सामाजिक विकास समितिको निर्णय

349 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सञ्चालित रक्षा हेल्थ केयर प्रा.लि मापदण्ड विपरित सञ्चालन भएको पाइएको भन्दै लालबन्दी नगरपालिकाको सामाजिक विकास समितिले बन्द गर्ने निर्णय गरेको छ ।लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास समितिले नगर भित्रका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालन भएको पाइएको भन्दै आवश्यक कागजातहरु नगरपालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराउन सूचना जारी गरेको थियो ।सो अवधिमा रक्षा हेल्थ केयर प्रा.लिले आवश्यक कुनै पनि कागजात पेश नगरेको भन्दै सामाजिक विकास समितिले बन्द गर्ने निर्णय गरेको नगर स्वास्थ्य शाखाका संयोजक मुमताज मिक्रानीले जानकारी दिए ।
उनका अनुसार करिब दुई महिना पहिला नगर भित्रका सबै निजी स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन गरेकोमा लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सञ्चालित रक्षा हेल्थ केयर प्रा.लि मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो ।नगर भित्रका ६९ वटा निजी स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन गर्दा लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा स्थानीय खुसिलाल महतो र उनका छोरा रन्जीत महतोले सञ्चालन गरेको रक्षा हेल्थ केयर प्रा.लि मापदण्ड विपरित सञ्चालन भएको पाइएको नगरस्तरीय अनुगमन समितिले जनाएको छ ।
नगरपालिकाको अनुगमन समिति र स्वास्थ्य शाखाले गरेको स्थलगत अनुगमन पछि आफ्नो निजी स्वास्थ्य संस्थाहरुको आवश्यक सम्पुर्ण कागजात पेश गर्न निर्देशन गरिएको भएपनि सो समयमा पेश भएका कागजातहरुमा लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सञ्चालित रक्षा हेल्थ केयर प्रा.लिले आवश्यक कुनै पनि कागजात पेश नगरेपछि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा श्रीराम बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय र रक्षा हेल्थ केयर प्रा.लि आफ्नै घरमा राखेका रामेश्वर र खुसीलाल महतोले भारतमा बसेर कुनै स्वास्थ्य संस्थामा काम गरेर केही अनुभव बटुलेका मनोज कुमार महतोलाई एमविविएस डाक्टर भन्दै आफ्नो निजी स्वास्थ्य संस्थामा राखेर उनी नै सञ्चालक रहेको भन्दै स्थानीयको स्वास्थ्य माथि खेलवाड गरेका स्थानीयले बताएका छन् ।
लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख एवम अनुगमन समितिकी संयोजक कल्पना माया पाख्रिङको अध्यक्षतामा मंसिर १९ गते बसेको सामाजिक विकास समिति र विषयगत समितिले लालबन्दी नगरपालिकाको अनुगमन समिति र नगर स्वास्थ्य शाखाले मागेको आवश्यक कागजातहरु पेश नगरेको लालबन्दी नगरपालिका १ मा महतोले सञ्चालन गरेको रक्षा हेल्थ केयर प्रा.लिलाई आवश्यक कागजात पेश नगरेको र मापदण्ड पुरा नगरेको पाइएको भन्दै बन्द गर्ने निर्णय समेत गरेको छ ।विगत केही वर्ष पहिलादेखि सञ्चालनमा रहेको रक्षा हेल्थ केयर प्रा.लिमा यस अघिपनि पटक पटक अनुगमन गर्दा आवश्यक कागजात पेश नगरेको र मापदण्ड पुरा नगरेको पाइदै आएको थियो तर बन्द नै गर्ने निर्णय नहुँदा उन्मुक्ती पाउँदै आएको थियो ।

सम्बन्धित समाचार