बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवबाट समुदायलाई शिक्षामा जोड्दै बागमती नगरपालिका

388 Shares

सर्लाहीको बागमती नगरपालिकाले फागुन १२ गते बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव सञ्चालन गर्ने भएको छ।सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर सुधार अभियानमा लागेको बागमती नगरपालिकाले  एकै पटक तीन हजार विद्यार्थीहरु र करिव १५ हजार अभिभावक सहभागी गराई बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका ११,कर्मैयास्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा फागुन १२ गते शनिवार एकदिन हुने बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजनाको नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्ने छन् ।

नगरप्रमुख थापाले संघियता लागु भएपछि भएको पहिलो निर्वाचनदेखि नै आफुहरु निर्वाचित भएर आएदेखि आफुहरुले प्राप्त गरेका अधिकारको प्रयोग गर्दै कसरी सुखी,असल र समृद्ध बसरी बनाउन सकिन्छ भन्ने विषयमा वृहतर छलफल पछि पूर्वाधार सँगसँगै चेतनाको समेत विकास गर्नुपर्छ भन्ने निष्कर्षसहित शैक्षिक महोत्सव आयोजना गर्न लागिएको मंगलबार नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगर प्रमुख थापाले बताए ।

“आफूहरु निर्वाचित भएर आएपछि नगरभित्रका सामुदायिक विद्यालयमा थुप्रै सुधारका काम भएका र सामुदायिक विद्यालय सुधारकै अभियान अन्तर्गत ऐतिहासिक शैक्षिक महोत्सव आयोजना गर्न जुटेको”नगर प्रमुख थापाले बताए ।उनले“हामी निर्वाचित भएर आउँदा यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निकै कम थियो त्यो अहिले परिवर्तन भई करिब आठ हजार विद्यार्थी भर्ना भएका छन्,भौतिक संरचनाको कमी र शिक्षक दरबन्दीको अभावले अब थप नयाँ विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्था छैन् ।”बताए ।

विद्यार्थीहरुलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरुको सर्वागिण विकासका लागि समाजको मौलिकता,संस्कार,संस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाको शिक्षा शाखाका मिन प्रसाद उपाध्यायले बताए ।उनका अनुसार महोत्सवमा तीन हजार विद्यार्थीहरुले सातै प्रदेशको संस्कार,संस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् ।
बागमती नगरपालिकाको शिक्षा सुधार अभियानका सहजकर्ता एवम वृहत राष्ट्रिय शिक्षा सुधार अभियान नेपालका अभियान्ता अभिषेक घिमिरेले शैक्षिक महोत्सवलाई सफल र उपलब्धीपूर्ण बनाउन विगत तीन महिनादेखि प्रत्येक विद्यालयहरुका विद्यार्थीहरुलाई तयारी गराइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार