गुट–उपगुटबाट टाढा रहन रवि लामिछानेको आग्रह, ‘रास्वपा विवेकले चल्छ’

2.2k Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट निर्माण नगर्न प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले पुराना दलजस्तै प्रवृत्ति दोहोरिए रास्वपाबाट फरक परिणाम ननिस्कने बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले पनि गुट–उपगुट बनायौँ भने परिणाम पुराना पार्टीको जस्तै हुन्छ। फरक परिणाम निकाल्न केही फरक गर्नैपर्छ।”

सभापति लामिछानेले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर नेतृत्व चयन गर्न आग्रह गर्दै ५२ लाख मतदाताले विवेक प्रयोग गरेर रास्वपालाई विश्वास गरेको स्मरण गराउनुभयो। प्रतिनिधि चयन पनि विवेकपूर्ण ढंगले गरिएको उहाँको भनाइ थियो।

महाधिवेशन प्रतिनिधिबाट सङ्कलन गरिएको पाँच हजार रुपैयाँ शुल्क ऐच्छिक बनाइएको उल्लेख गर्दै उहाँले आवश्यक परे उक्त रकम फिर्ता लिन सकिने जानकारी दिनुभयो। आर्थिक रूपमा सक्षम प्रतिनिधिले अन्य साथीहरूको खर्चसमेत व्यहोर्न सके राम्रो हुने उहाँले बताउनुभयो।

निर्वाचन प्रक्रियाबारे बोल्दै लामिछानेले आफू कुनै उम्मेदवारको पक्षमा नरहेको स्पष्ट पार्नुभयो। “जसले जिते पनि घण्टीबाहकले जित्छ,” भन्दै उहाँले कसलाई मतदान गर्ने भन्ने निर्णय प्रतिनिधिहरूकै विवेकमा निर्भर रहने बताउनुभयो।

उहाँले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट रोक्ने नीति नरहेको स्पष्ट पार्दै सांसद वा मन्त्री भइसकेकाहरूलाई चुनाव लड्न नदिने भन्ने चर्चा निराधार भएको बताउनुभयो। पुराना र नयाँ सबै सदस्यलाई आफ्नो क्षमता र योग्यताअनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको उहाँको भनाइ थियो।

“रास्वपा ‘ह्विप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो,” भन्दै उहाँले पार्टीले कसलाई भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पार्नुभयो।

पार्टीभित्र देखिने सामान्य असन्तुष्टि र मनमुटावलाई आन्तरिक छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले विवादलाई सार्वजनिक तमासाको विषय नबनाउन आग्रह गर्नुभयो। स्वस्थ, स्वच्छ र विवादरहित ढंगले महाधिवेशन सम्पन्न गरेर नयाँ राजनीतिक संस्कृतिको उदाहरण प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो।

सभापति लामिछानेको उद्घाटन मन्तव्यसँगै बन्दसत्रका औपचारिक कार्यक्रम सुरु भएका छन्। आजै बन्दसत्र सम्पन्न गरी निर्वाचनका कार्यक्रम अघि बढाउने तयारी रास्वपाले गरेको छ।

सम्बन्धित समाचार