तिहार बजारमा भारतीय दियोको आकर्षण, स्वदेशी उत्पादन सस्तो हुँदा पनि ओझेलमा

1k Shares

काठमाडौँ । तिहार नजिकिएसँगै बजारमा माटाका दियो तथा पाला किन्नेको चहलपहल बढेको छ । तर स्वदेशमै उत्पादन हुने दियो र पालाभन्दा महँगो भारतीय उत्पादनले बजारमा बढी स्थान पाएको छ ।

व्यापारीहरूका अनुसार आकर्षक बुट्टा र डिजाइनका कारण भारतीय दियो तथा पालाप्रति उपभोक्ताको आकर्षण बढेको हो । नेपालमा उत्पादन हुने दियोको तुलनामा भारतीय दियोको मूल्य चार गुणासम्म महँगो भए पनि माग भने भारतीय उत्पादनकै बढी रहेको छ ।

काठमाडौँको भेडासिंहमा माटाका भाँडा बिक्री गर्दै आउनुभएकी नानुमाया कर्माचार्यका अनुसार नेपाली दियो प्रतिदर्जन ४० रुपैयाँमा बिक्री भइरहेको छ भने भारतबाट आयात गरिएका बुट्टेदार दियोको मूल्य प्रतिदर्जन २२० रुपैयाँ छ । मूल्यमा ठूलो अन्तर भए पनि उपभोक्ताले भारतीय दियो नै बढी रोज्ने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, व्यापारी राजुमान शाक्यका अनुसार भारतबाट ल्याइएका बुट्टेदार दियोको बिक्री स्वदेशी उत्पादनभन्दा निकै बढी छ । उहाँका अनुसार १० दर्जन भारतीय दियो बिक्री हुँदा मुस्किलले दुई दर्जन नेपाली दियो बिक्री हुने गरेको छ ।

व्यापारीहरूका अनुसार छ–सात वर्षअघिसम्म तिहारमा आवश्यक पर्ने दियो तथा पाला स्वदेशी उत्पादनले नै धान्ने गरेको थियो । तर पछिल्लो समय नेपाली उत्पादनलाई भारत र चीनबाट आयात गरिएका सामग्रीले विस्थापित गर्दै लगेका छन् ।

तिहारमा ४५ लाखभन्दा बढी फूलका माला खपत हुने अनुमान

यस वर्ष तिहारमा फूलका मालाको मागसमेत बढ्ने अनुमान गरिएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलको माग १४ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष तिहारमा करिब ३५ लाख थान सयपत्री फूलको माला खपत भएको थियो । यस वर्ष भने विभिन्न प्रकारका गरी कुल ४५ लाख २५ हजार थान फूलका माला माग हुने अनुमान गरिएको छ ।

फ्यानका अनुसार यस वर्ष ४० लाख सयपत्री, चार लाख ७५ हजार मखमली, २० हजार गोदावरी र ३० हजार मिश्रित फूलका माला खपत हुने अपेक्षा गरिएको छ ।

ढाकाटोपीको व्यापार पनि बढ्दै

तिहारको समयमा ढाकाटोपीको बिक्री पनि बढ्ने गरेको व्यापारीहरूले बताएका छन् । असनका टोपी व्यापारी विनय श्रेष्ठका अनुसार पहिलेको तुलनामा ढाकाटोपीको माग केही घटे पनि तिहारमा यसको व्यापार अझै कायम छ ।

बजारमा पाल्पाली र पूर्वेली ढाकाटोपी बढी प्रख्यात छन् । ढाकाटोपी बनाउन आवश्यक कच्चा पदार्थसमेत भारतको गोरखपुरबाट आयात गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताउनुभयो ।

बजारमा प्रतिथान ५० रुपैयाँदेखि दुई हजार ५०० रुपैयाँसम्मका ढाकाटोपी उपलब्ध छन् । तर तिहारका बेला २५० देखि ५०० रुपैयाँसम्म पर्ने टोपी बढी बिक्री हुने गरेको व्यापारीहरूको अनुभव छ ।

स्वदेशी उत्पादन पर्याप्त हुँदाहुँदै पनि आयातित सामग्रीप्रतिको आकर्षण बढ्दै जानुले स्थानीय उत्पादनको बजार विस्तारमा चुनौती थपिएको देखिन्छ ।

सम्बन्धित समाचार