कांग्रेसको आधिकारिकता विवादमा देउवाको प्रश्न– १८ करोडमा पार्टी किन्ने अवस्था कसरी आयो ?

1k Shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको आर्थिक चलखेल भएको आरोप लगाउँदै निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाएका छन् ।

शनिबार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा सार्वजनिक आर्थिक लेनदेनको प्रसङ्ग उल्लेख भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

देउवाले अडियोमा १८ करोड रुपैयाँको कारोबार भएको भनिएको विषयलाई उद्धृत गर्दै पैसाको बलमा पार्टीको आधिकारिकता लिने प्रयास भएको आरोप लगाए ।

उनले भने, ‘इनम सापकोटाले १८ करोड भनेको छ । त्यो सानो पैसा हो ? त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’

उनले निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धी निर्णय गर्दा निष्पक्ष भूमिका निर्वाह नगरेको आशङ्का व्यक्त गरे । तत्कालीन प्रमुख निर्वाचन आयुक्तले आफ्नो ज्यानमा खतरा रहेको बताएको विषय सञ्चारमाध्यमबाट थाहा पाएको उल्लेख गर्दै देउवाले आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाए ।

आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन गरिएको र आफूलाई सभापति पदबाट हटाउने कुनै वैधानिक प्रक्रिया पूरा नभएको उनको दाबी छ ।

देउवाले आफू नै पार्टी सभापति रहेको जिकिर गर्दै विशेष महाधिवेशनबाट अर्को नेतृत्व चयन गरिएको विषयलाई कानुनी रूपमा चुनौती दिइरहेको बताए । यससम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

यसअघि सार्वजनिक भएको इनम सापकोटाको भनिएको अडियोमा कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रुपैयाँ आर्थिक कारोबार भएको दाबी गरिएको थियो । उक्त अडियोमा विभिन्न राजनीतिक तथा न्यायिक क्षेत्रका व्यक्तिहरूको नामसमेत जोडिएको छ ।

यता, कांग्रेस सभापति गगन थापाले भने पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नभएको स्पष्ट पारिसकेका छन् । उनले अडियो प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

अहिलेसम्म सार्वजनिक भएका आर्थिक लेनदेनसम्बन्धी दाबी र अडियोको आधिकारिकता स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन । यस विषयमा अनुसन्धानबाट आउने निष्कर्षले कांग्रेसभित्र जारी आधिकारिकता विवादमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार