संविधान संशोधनमा रास्वपाको जोड : पूर्ण समानुपातिक, गैरदलीय राष्ट्रियसभा र प्रदेश पुनर्संरचना

1.5k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनका लागि तीन प्रमुख विषयलाई प्राथमिकतामा राख्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचन प्रणाली, राष्ट्रियसभाको पुनर्संरचना तथा प्रदेश संरचनाको पुनरावलोकनलाई मुख्य एजेन्डाका रूपमा अघि सारिएको छ ।

प्रतिवेदनअनुसार रास्वपाले हाल कायम मिश्रित निर्वाचन प्रणालीलाई खर्चिलो र जटिल भएको निष्कर्ष निकाल्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा उभिने निर्णय गरेको छ ।

त्यसैगरी, राष्ट्रियसभालाई विशेषज्ञहरूको थलोका रूपमा विकास गर्न गैरदलीय सदस्य निर्वाचित गर्ने व्यवस्था हुनुपर्ने र राष्ट्रियसभाको अध्यक्ष उपराष्ट्रपति रहने प्रस्तावलाई पनि रास्वपाले समर्थन गर्ने जनाएको छ ।

यस्तै, प्रदेशसभा र प्रदेश सरकारको पुनर्संरचनाको पक्षमा पनि रास्वपा उभिएको छ। यद्यपि प्रदेश संरचना कस्तो हुने भन्नेबारे राजनीतिक प्रतिवेदनमा स्पष्ट प्रस्ताव गरिएको छैन ।

यसअघि रास्वपाका केही नेताहरूले प्रदेशसभा खारेज गरी प्रदेश काउन्सिलको अवधारणा अघि सारेका थिए। तर यसपटकको प्रतिवेदनमा त्यस विषयमा विस्तृत व्याख्या गरिएको छैन ।

 
 
सम्बन्धित समाचार