रास्वपामा महामन्त्री दौड रोचक : विपीन आचार्यको पक्षमा बढ्यो समर्थन

1.9k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनअघि नेतृत्व समीकरण तीव्र बनेको छ। महामन्त्रीका आकांक्षी रहेका प्रमोद न्यौपाने र गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपीन आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

यसअघि निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले पनि उम्मेदवारी फिर्ता लिँदै आचार्यलाई समर्थन गरेका थिए। बुर्लाकोटीले पार्टीमा एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी नदिने अभ्यासलाई सम्मान गर्दै आफू प्रतिस्पर्धाबाट पछि हटेको बताएका थिए । उनी हाल संसदीय दलका प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।

महामन्त्रीको प्रतिस्पर्धामा विपीन आचार्यलाई समर्थन गर्ने नेताहरूको सूचीमा पूर्वमहामन्त्री शिशिर खनाल र नेता जगदीश खरेल पनि रहेका छन्। यससँगै आचार्यको पक्षमा पार्टीभित्र प्रभावशाली नेताहरूको समर्थन जुटेको देखिएको छ ।

प्रमोद न्यौपाने र गणेश पराजुलीले पार्टीभित्र अनावश्यक प्रतिस्पर्धाभन्दा सहमति र एकताबाट नेतृत्व चयन हुनु उपयुक्त हुने निष्कर्षसहित आचार्यलाई समर्थन गरेको बताएका छन् । उनीहरूले सक्षम, समन्वयकारी र संगठन निर्माणमा सक्रिय नेतृत्व आवश्यक रहेको भन्दै आचार्यको उम्मेदवारीलाई बलियो बनाउने निर्णय गरेको जनाएका छन् ।

लगातार नेताहरूले समर्थन जनाउन थालेपछि महामन्त्रीको प्रतिस्पर्धामा विपीन आचार्यको स्थिति थप मजबुत बनेको विश्लेषण गरिएको छ । पार्टीको नयाँ नेतृत्व चयनसँगै महाधिवेशनले आगामी संगठनात्मक दिशा र कार्यशैली तय गर्ने भएकाले महामन्त्री पदलाई विशेष महत्वका साथ हेरिएको छ ।

रास्वपाको पहिलो महाधिवेशनमा सभापतिसहित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको निर्वाचन भइरहेको छ। उम्मेदवारी फिर्ता र समर्थनको क्रमले निर्वाचनअघि नै विभिन्न पदमा नयाँ राजनीतिक समीकरण बन्न थालेको देखिएको छ ।

 
 
सम्बन्धित समाचार