लामो अन्तरालपछि एउटै कार्यक्रममा भेटिँदै तीन कम्युनिस्ट नेता

1.6k Shares

काठमाडौं । लामो समयपछि प्रमुख कम्युनिस्ट नेताहरू आज एउटै मञ्चमा उपस्थित हुँदैछन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज राजधानीमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका हुन्।

मदन भण्डारी फाउन्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा उनीहरू एउटै मञ्चमा देखिन लागेका हुन्। कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय सभागृह (भृकुटीमण्डप) मा आयोजना गरिएको छ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्या देवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। साथै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य राजनीतिक नेताहरूले पनि सम्बोधन गर्नेछन्।

पछिल्ला वर्षहरूमा राजनीतिक ध्रुवीकरण र दल विभाजनका कारण फरक–फरक राजनीतिक धारमा रहेका ओली, प्रचण्ड र माधव नेपाल लामो अन्तरालपछि एउटै सार्वजनिक मञ्चमा देखिन लागेकाले यस कार्यक्रमलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

 
सम्बन्धित समाचार