धुलो टकटक्याउँदै फेरि उठ्छौँ, एमाले पराजित भएको छैन : ओली
2.2k
Shares
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावमा धक्का खाए पनि समाप्त नभएको बताएका छन् । उनले एमाले फेरि सशक्त रूपमा उठेर प्रतिक्रियावादी शक्तिलाई पराजित गर्ने दाबी गरे ।
आइतबार मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले रचनात्मक, शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अग्रगामी परिवर्तनको यात्रामा अघि बढ्ने बताए ।
“हामी लडेका छौँ, मरेका होइनौँ,” उनले भने, “हामी विध्वंसको बाटोबाट होइन, रचनात्मक र शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनमा पुग्नेछौँ । पश्चगामी र प्रतिगामी षड्यन्त्रलाई पराजित गर्नेछौँ । फेरि धुलो टकटक्याउँदै उठ्नेछौँ र विजयी हुनेछौँ ।”
अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउने उद्देश्यका साथ विभिन्न षड्यन्त्र भइरहेको आरोप लगाए। उनले नेपाली कांग्रेस विभाजित भइसकेको उल्लेख गर्दै एमाले भने अझै एकढिक्का र संगठित रहेको जिकिर गरे ।
उनले विगतमा कम्युनिस्ट आन्दोलनमा कठिन प्रयासपछि बनेका एकताहरू पटक–पटक फुटेको स्मरण गर्दै एमालेलाई पनि बाह्य शक्तिबाट विभाजन गराउने प्रयास भइरहेको दाबी गरे ।
“प्रयासहरू भएका छन्, नभएका होइनन्,” उनले भने, “तर नेकपा एमाले जनताको बहुदलीय जनवादबाट निर्देशित, उद्देश्यप्रति स्पष्ट र सुदृढ पार्टी हो । कसैले हात हाल्न खोज्दैमा हामी त्यसलाई चिन्छौँ, सतर्क हुन्छौँ र अझ बढी एकताबद्ध हुन्छौँ ।”
अध्यक्ष ओलीले पछिल्लो निर्वाचनमा एमालेले अपेक्षाअनुसार परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै त्यसलाई केवल अस्थायी धक्का भएको बताए। “यो चुनावमा धक्का खाएका छौँ, तर हामी समाप्त भएका छैनौँ,” उनले भने ।