'पार्टी विभाजन हामीबाट होइन, सभापतिले चाहे मात्र हुन्छ' : पूर्णबहादुर खड्का
1.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजन आफ्नो समूहका कारण नहुने भन्दै त्यसको जिम्मेवारी सभापतिको भूमिकामा निर्भर रहने बताएका छन्। बुधबार चुनदेवीमा संस्थापनइतर समूहको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकता कायम गर्ने जिम्मेवारी नेतृत्वको भएको उल्लेख गरे।
खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई लक्षित गर्दै पार्टीलाई एकताबद्ध बनाउने दायित्व नेतृत्वकै काँधमा रहेको बताए। उनले भने, “पार्टी विभाजन हाम्रा कारणले हुँदैन। सभापतिले चाहे मात्रै पार्टी विभाजन हुन्छ।” विगतमा पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकै चाहनाअनुसार पार्टी विभाजन भएको दाबी गर्दै अहिले आफू वा विमलेन्द्र निधिका कारण त्यस्तो अवस्था नआउने उनले स्पष्ट पारे।
उनले पार्टी एकताका लागि सभापति गगन थापाले सकारात्मक पहल गर्नुपर्ने बताए। “उहाँ जुन बाटोमा हिँड्नुभएको छ, त्यहाँबाट फर्किनुपर्छ,” भन्दै उनले नेतृत्वले समावेशी ढंगले अघि बढे मात्र कांग्रेस बलियो बन्न सक्ने धारणा राखे।
खड्काले चार महिनाअघि २७ जना युवा नेतासँग लामो छलफल गरेको स्मरण गर्दै आफूलाई कुनै पदको लोभ नभएको बताए। युवा पुस्ताले निर्णय गरेर नेतृत्व लिए आफूहरू सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।
सक्रिय सदस्यता अद्यावधिक प्रक्रियाप्रति पनि उनले असन्तुष्टि जनाए। कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी सदस्यता अद्यावधिक गरिएको दाबी गर्दै उनले चार लाखभन्दा बढी सदस्यको विवरण त्यसरी अद्यावधिक गरिएको आरोप लगाए। यस विषयमा आफूले डा. शेखर कोइरालासँग समेत परामर्श गरेको जानकारी दिए।
खड्काले आफूहरूको समूहसँग अहिले कुनै औपचारिक संरचना नरहेको उल्लेख गर्दै सम्पर्क कार्यालय सञ्चालनका लागि नेताहरूबाट आर्थिक सहयोग जुटाइने जानकारी पनि दिए। पूर्वपदाधिकारी, पूर्वमन्त्री र केन्द्रीय सदस्यहरूबाट निश्चित रकम संकलन गरेर कार्यालय सञ्चालन गर्ने योजना रहेको उनले बताए।
राष्ट्रिय भेला कहिले गर्ने भन्ने विषयमा थप छलफलपछि निर्णय हुने बताउँदै उनले पार्टी अहिलेको अवस्थामा पुग्ला भन्ने आफूले कहिल्यै नसोचेको उल्लेख गरे। गगन थापा र विश्वप्रकाश शर्माले यस्तो परिस्थिति सिर्जना गर्ने संकेत आफूलाई नदिएको पनि उनले बताए। तीन दिनदेखि जारी संस्थापनइतर समूहको बैठक खड्काको सम्बोधनसँगै सम्पन्न भएको छ।