एमालेमा नयाँ नेतृत्वको माग - ओली नेतृत्वविरुद्ध ८७.६% मत

1.4k Shares

काठमाडौँ । नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तनको माग बलियो देखिएको दाबी गरिएको छ। ‘नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान–२०८०’ ले सार्वजनिक गरेको सर्वेक्षणअनुसार अधिकांश सहभागीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन हुनुपर्ने मत दिएका छन्।

अभियानले गरेको सर्वेक्षणको ‘विद्यमान पार्टी नेतृत्वबारे तपाईंको धारणा के छ ?’ भन्ने प्रश्नमा ८७.६ प्रतिशत सहभागीले नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्। १०.५ प्रतिशत ले भने हालकै नेतृत्व उपयुक्त रहेको मत व्यक्त गरेका छन् भने बाँकी सहभागीले कुनै धारणा नदिएको अभियानले जनाएको छ।

सर्वेक्षणमा पार्टीको वर्तमान नीतिप्रति पनि असन्तुष्टि देखिएको दाबी गरिएको छ। ८७.५ प्रतिशत सहभागीले विद्यमान पार्टी नीतिमा परिमार्जन आवश्यक रहेको बताएका छन् भने ९१.४ प्रतिशत ले अहिलेको अवस्थामै पार्टी अघि बढ्न नसक्ने धारणा राखेका छन्।

त्यस्तै, पार्टीको संगठनात्मक संरचनामा पनि व्यापक सुधार आवश्यक रहेको मत सर्वेक्षणमा देखिएको छ। ९१.४ प्रतिशत सहभागीले संगठन संरचना अद्यावधिक गर्नुपर्ने बताएका छन्।

अभियानका सदस्य रमेश पौडेलका अनुसार सर्वेक्षणमा सहभागीमध्ये ७२.२ प्रतिशत एमालेका सदस्य, १५.९ प्रतिशत एमाले समर्थक तथा बाँकी अन्य दलका समर्थक र स्वतन्त्र नागरिक रहेका थिए।

उनका अनुसार नेपालसहित विश्वका १४ देश मा रहेका हजारौँ एमाले सदस्य तथा शुभेच्छुकबीच सर्वेक्षण सञ्चालन गरिएको हो। सर्वेक्षणको प्रतिवेदन बिहीबार नै एमाले महासचिवलाई बुझाइसकिएको उनले जानकारी दिए।

पार्टीभित्र रूपान्तरण र पुनर्संरचनाको बहसलाई अघि बढाउने उद्देश्यले सर्वेक्षण गरिएको अभियानको दाबी छ। यद्यपि, सर्वेक्षणको नमुना, पद्धति र निष्कर्षबारे एमालेको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।

सम्बन्धित समाचार