आयोगको सिफारिसविरुद्ध एमालेको निवेदन ओलीमाथिको सिफारिस सच्याउन एमालेको माग

1.6k Shares

 

काठमाडौँ । नेकपा (एमाले) ले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको मूल प्रतिवेदन उपलब्ध गराउन माग गर्दै आयोगमा निवेदन दर्ता गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार आयोगको कार्यालयमा निवेदन दर्ता गराएका हुन्।

निवेदनमा आयोगको निर्णय नम्बर १७७ अन्तर्गत गरिएको सिफारिस नेपालको संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित सिद्धान्तसँग मेल नखाने दाबी गर्दै उक्त निर्णय पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको उल्लेख गरिएको छ। एमालेले उक्त सिफारिस सच्याउन पनि माग गरेको छ।

त्यस्तै, आयोगले तयार पारेको मूल प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन तथा प्रतिवेदनका कुन-कुन अंश स्वीकार, संशोधन वा हटाइयो भन्ने विवरणसहित त्यसको आधार र कारण खुल्ने सबै कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि एमालेले आग्रह गरेको छ।

राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आवश्यक परे भूतप्रभावी कानुन बनाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसप्रति असहमति जनाउँदै एमालेले आयोगसँग प्रतिवेदन र सम्बन्धित कागजात माग गरेको हो।

सम्बन्धित समाचार