काठमाडौँ महानगरले सञ्चालनमा ल्यायो खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला

1.4k Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर वैज्ञानिक रूपमा परीक्षण गरी बजार अनुगमनलाई थप प्रभावकारी बनाउन खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला (फुड बायोलोजिकल टेस्टिङ ल्याबोरेटरी) सञ्चालनमा ल्याएको छ।

महानगरको काठमाडौँ प्लाजास्थित पाँचौँ तलामा स्थापना गरिएको प्रयोगशालाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उद्घाटन गर्नुभयो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको यो प्रयोगशाला कृषि तथा पशुपक्षी विभागअन्तर्गत सञ्चालन हुनेछ।

प्रयोगशालामा इकोलाई (Escherichia coli), साल्मोनेला, स्टाफिलोकोकस ओरियस, टोटल प्लेट काउन्ट, टोटल मोल्ड काउन्ट, फिकल कोलिफर्म लगायत विभिन्न रोगजन्य सूक्ष्मजीवको परीक्षण गरिनेछ। परीक्षण प्रक्रिया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी)’ का आधारमा सञ्चालन हुनेछ।

उद्घाटन कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले अब बजार अनुगमनका क्रममा भेटिने खाद्य वस्तुको गुणस्तर अनुमानका आधारमा नभई वैज्ञानिक परीक्षण र प्रमाणका आधारमा मूल्याङ्कन गरिने बताउनुभयो। उहाँले प्रयोगशालाबाट प्राप्त नतिजाका आधारमा गुणस्तरहीन तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायीमाथि कानुनी कारबाही गरिने स्पष्ट पार्नुभयो।

उहाँका अनुसार महानगरले हालसम्म तीन हजार ९० जना खाद्य व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरी उपभोक्ता अधिकार र खाद्य स्वच्छताबारे सचेत बनाएको छ। साथै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा घुम्ती प्रयोगशालासहित नियमित तथा आकस्मिक बजार अनुगमनसमेत सञ्चालन गर्दै आएको छ।

महानगरपालिकाले आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि बजारबाट सङ्कलित नमूनाको छिटो, भरपर्दो र वैज्ञानिक परीक्षण गर्न सकिने जनाएको छ। यसबाट खाद्य स्वच्छताको अनुगमन, नियमन र नियन्त्रण प्रमाणमा आधारित हुने तथा उपभोक्ताले सुरक्षित र गुणस्तरीय खाद्य सेवा पाउने अपेक्षा गरिएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रयोगशालाले खाद्य सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। खाद्य स्वच्छता विज्ञ सल्लाहकार जीवनप्रभा लामाले कानुनी व्यवस्था, खाद्य निरीक्षण, प्रयोगशाला सेवा र उपभोक्ता सचेतना खाद्य स्वच्छताका मुख्य आधार भएको उल्लेख गर्दै महानगरले यी सबै क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो।

महानगरका अनुसार प्रयोगशालामा नमूना दर्तादेखि परीक्षण प्रतिवेदन तयार पार्ने सम्पूर्ण प्रक्रिया वैज्ञानिक विधिअनुसार सञ्चालन हुनेछ। नमूना सङ्कलन, कल्चर, सूक्ष्मजीव पहिचान, परिणाम विश्लेषण तथा प्रतिवेदन प्रणाली गुणस्तर व्यवस्थापन मापदण्डअनुसार सञ्चालन गरिनेछ।

महानगरपालिकाले आगामी दिनमा अन्तर्राष्ट्रिय असल प्रयोगशाला अभ्यास (Good Laboratory Practice) अनुरूप प्रयोगशालालाई औपचारिक मान्यता (एक्रिडेसन) दिलाउने लक्ष्यसमेत राखेको जनाएको छ।

 
 
सम्बन्धित समाचार