घाँटी सुक्नेगरी भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपा सांसदको माग
1.9k
Shares
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेका छन्। उनले उक्त अभिव्यक्तिले सांसद र संसद्कै गरिमामाथि आघात पुगेको जिकिर गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा मुगुका गणेश नेपालीको आत्मदाह प्रयास र उपचारका क्रममा भएको मृत्युबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले, ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को–को अस्पताल पुग्नुभएको थियो ?’ भन्दै प्रश्न गरेका थिए।
त्यसपछि धारणा राख्दै सांसद गोपाल शर्माले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै घटनाबारे जानकारी दिनु सरकारको दायित्व भएको बताए। सांसदहरूले उठाएका विषयलाई ‘घाँटी सुक्नेगरी कराएको’ भनेर टिप्पणी गर्नु अनुचित भएको उनको भनाइ थियो।
शर्माले गृहमन्त्रीको उक्त अभिव्यक्तिलाई सांसद र संसद्को अपमानका रूपमा व्याख्या गर्दै संसद्को आधिकारिक रेकर्डबाट हटाउन सभामुखसँग माग गरेका छन्।