सूर्यविनायक नगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना नगर घोषणा

1.6k Shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । शुक्रबार नगरपालिकाको कार्यालय कटुञ्जेमा आयोजित कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा नगरप्रमुख थापाले पाँच वर्षमुनिका सबै बालबालिकाले शतप्रतिशत खोप प्राप्त गरेको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षा र उज्ज्वल भविष्य सुनिश्चित गर्ने लक्ष्यमा नगरपालिका सफल भएको बताए । उनले पूर्णखोपको उपलब्धिलाई दीगो बनाउन आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

नगरप्रमुख थापाले स्वास्थ्य क्षेत्र नगरपालिकाको प्रमुख प्राथमिकतामा रहेको उल्लेख गर्दै नगर अस्पतालमार्फत नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको बताए । उनले शिक्षा, स्वास्थ्य तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा पनि नगरपालिकाले उल्लेखनीय सफलता हासिल गरेको दाबी गरे ।

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई घरदैलोमै पुगेर खोजी गर्दै खोप अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार सबै बालबालिकाले समयमै खोप पाउने सुनिश्चित गर्न आगामी वर्षहरूमा पनि खोप तथा खोज अभियानलाई निरन्तरता दिइनेछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले एक वर्षदेखि सञ्चालन गरिएको खोप तथा खोज कार्यक्रममार्फत खोपबाट छुटेका आठ जना बालबालिकालाई समेत पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको जानकारी दिइन् । उनले प्रत्येक बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न घरदैलोमै पुगेर सेवा प्रदान गरिएको बताइन् ।

नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईंका अनुसार घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कअनुसार १५ महिनासम्मका एक हजार ७५० जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् भने ड्रपआउट सङ्ख्या केवल एक रहेको छ । त्यस्तै, १६ देखि २३ महिनासम्मका एक हजार ३२९ जना बालबालिकाले पनि पूर्ण खोप प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार