शंकास्पद सवारी प्रकरण : 'यस्ता घटना सामान्य होइनन्'– सीके राउत
911
Shares
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह, सार्वजनिक स्थान तथा राजनीतिक नेताको निवासअगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर मिडिया हाउस, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र नयाँ बानेश्वरस्थित अनलाइनखबरको कार्यालयबाहिर सवारीसाधन तेर्स्याइएको घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले यस्ता गतिविधिले गम्भीर सुरक्षा चुनौती निम्त्याउन सक्ने बताएका हुन् ।
उनले अनामनगरस्थित भाटभटेनी सुपरमार्केट र रातोपुलस्थित नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निवासअगाडि पनि शंकास्पद रूपमा सवारीसाधन राखिएको उल्लेख गर्दै यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन् ।
राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘होइन होला! आज गेटै छेक्ने गरी गाडी राख्न लगाए, भोलि घर–घर अगाडि विस्फोटक पदार्थ राख्न लगाए भने के हुने हो ?’ भन्दै उनले सुरक्षा संवेदनशीलताप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
आफ्नो प्रतिक्रियामा उनले प्रगतिशील कवि फैज अहमद फैजको चर्चित कविता ‘हम देखेंगे’ का केही अंश पनि उद्धृत गरेका छन् । पछिल्लो समय विभिन्न सञ्चारगृह, सार्वजनिक स्थल र राजनीतिक व्यक्तित्वका निवासबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाले सुरक्षा र प्रेस स्वतन्त्रताबारे चासो बढाएको छ ।
घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारसँग विभिन्न राजनीतिक दल, सञ्चार क्षेत्र तथा सरोकारवालाले माग गर्दै आएका छन् ।