सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा केन्द्रित : सांसद महेन्द्रबहादुर शाही

1k Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले वर्तमान सरकार जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नुभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा केन्द्रित भएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सरकारले प्रभावकारी काम गर्नुपर्नेमा प्रचारमुखी गतिविधिलाई प्राथमिकता दिएको टिप्पणी गरे।

उनले अहिले नागरिकको मुख्य चाहना भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय रहेको उल्लेख गर्दै यिनै विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।

सांसद शाहीले सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले गरिने गतिविधिले मुलुकलाई विकासतर्फ नभई अस्थिरता र अव्यवस्थातर्फ धकेल्ने चेतावनी दिए।

उनले प्रतिपक्षबाट उठाइएका प्रश्न र सुझावलाई आलोचनाका रूपमा लिएर प्रतिवाद गर्नुभन्दा सरकारले आफ्नो काम र उपलब्धिमार्फत जवाफ दिनुपर्ने धारणा राखे।

सरकारका अपरिपक्व निर्णय र कार्यशैलीका कारण जनतामा सरकारप्रतिको विश्वास क्रमशः कमजोर बन्दै गएको भन्दै उनले जनअपेक्षा अनुसार सुशासन र परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई आग्रह गरे।

सम्बन्धित समाचार