सरकारका १६६ विधेयक संसद्मा ल्याउने तयारी, राष्ट्रिय सभालाई सूची हस्तान्तरण

1.6k Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकारले सङ्घीय संसद्मा दर्ता गर्ने तयारी गरेका १६६ वटा विधेयकको सूची राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई बुझाउनुभएको छ ।

भेटका क्रममा अध्यक्ष दाहालले सरकारले ठूलो संख्यामा विधेयक संसद्मा ल्याउने तयारी गरेको जानकारी पाउँदा खुसी लागेको बताउँदै संविधान कार्यान्वयनका लागि अझै धेरै कानुन निर्माण हुन बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले सङ्घीय संसद्लाई पर्याप्त कार्यसूची उपलब्ध गराउँदै विधेयकहरू यथाशीघ्र पेस गर्न सरकारलाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले छिटो र प्रभावकारी रूपमा ऐन–कानुन निर्माण गरेर नागरिकलाई सहज सेवा प्रवाह र कानुनी प्रत्याभूति दिन सबै पक्षको सक्रिय पहल आवश्यक रहेको बताउनुभयो । सरकारले समयमै विधेयक पेस गरे राष्ट्रिय सभाले पनि कानुन निर्माण प्रक्रियामा कुनै ढिलाइ नगर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री गौतमले सरकारले संसद्मा पेस गर्ने विधेयकहरूको प्राथमिकता निर्धारण गरी तयारी भइरहेको जानकारी दिँदै सङ्घीय संसद्लाई ‘बिजनेसविहीन’ हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले आवश्यक कानुन निर्माणलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

 
सम्बन्धित समाचार