‘हेन्ड्स अफ एसिया’ सम्मेलनमा प्रचण्डले उठाए विश्व राजनीति र समाजवादका मुद्दा

1.8k Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकामा आयोजित ‘हेन्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन्।

श्रीलंकाको इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उनले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे विश्लेषण गरेका हुन्।

प्रचण्डले बदलिँदो विश्व शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता भएको उल्लेख गरे। उनले त्यसका लागि आवश्यक राजनीतिक रूपरेखाबारे पनि धारणा राखेका थिए।

सम्मेलनमा श्रीलंकाका वातावरणमन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण कार्यक्रमका कडा सर्तबीच जनमुखी विकासको वैकल्पिक मोडेल निर्माणबारे आफ्नो विचार प्रस्तुत गरेका थिए।

त्यसैगरी, विश्वप्रसिद्ध मार्क्सवादी लेखक, इतिहासकार तथा ‘ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च’का संयोजक विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई साम्राज्यवादी संरचनासँग जोडेर अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाको विश्लेषण गरेका थिए।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनका क्रममा श्रीलंकामा रहेका प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

WhatsApp-Image-2026-07-17-at-10.40.24-AM-1784272565.jpeg

यसैबीच सम्मेलनको साइडलाइनमा उनले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकका शीर्ष वामपन्थी नेताहरूसँग भेटवार्ता गरेका छन्।

सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेसनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गरेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार