ट्रम्पको सम्बोधन प्रमुख अमेरिकी टेलिभिजनले नदेखाए, लाइसेन्स खारेजको चेतावनी

1.1k Shares

अमेरिकाका प्रमुख टेलिभिजन नेटवर्कहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रका नाममा गरिएको सम्बोधन मुख्य च्यानलबाट प्रत्यक्ष प्रसारण नगरेपछि नयाँ विवाद उत्पन्न भएको छ। सम्बोधन प्रसारण नगरेको भन्दै ट्रम्पले एबीसी, एनबीसी र सिएनएनजस्ता सञ्चारमाध्यममाथि कडा आलोचना गर्दै उनीहरूको प्रसारण लाइसेन्स नै खारेज गर्नुपर्ने चेतावनी दिएका छन्।

अमेरिकामा मध्यावधि निर्वाचन हुन चार महिना बाँकी रहेका बेला बिहीबार राति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। तर तीन प्रमुख टेलिभिजन नेटवर्कमध्ये एबीसी र एनबीसीले उक्त सम्बोधन आफ्नो मुख्य प्रसारण च्यानलमा नदेखाई क्रमशः एबीसी न्युज लाइभ र एनबीसी न्युज नाउमार्फत मात्र प्रसारण गरे। त्यस्तै, सिएनएनले पनि नियमित टेलिभिजन च्यानलको सट्टा आफ्नो वेबसाइट र सदस्यता-आधारित डिजिटल प्लेटफर्ममार्फत मात्र प्रत्यक्ष प्रसारण गरेको थियो।

यसको विपरीत, सिबीएस र फक्स न्युजले ट्रम्पको सम्बोधन प्रत्यक्ष प्रसारण गरेका थिए। यद्यपि सिबीएसले प्रसारणअघि नै ट्रम्पका निर्वाचनसम्बन्धी धेरै दाबी तथ्यसँग नमिल्ने हुन सक्ने भन्दै दर्शकलाई सचेत गराएको थियो। प्रसारण सुरु भएको करिब १५ मिनेटपछि सिबीएसले प्रत्यक्ष प्रसारण रोक्दै ट्रम्पका दाबीहरूको तथ्य-जाँचसमेत प्रस्तुत गरेको थियो।

सम्बोधन प्रसारण नभएपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत ती सञ्चारमाध्यममाथि आक्रोश व्यक्त गरे। उनले एबीसी र एनबीसीलाई ‘फेक न्युज नेटवर्क’को संज्ञा दिँदै यस्तो व्यवहार गर्ने सञ्चारमाध्यमको प्रसारण लाइसेन्स खारेज गरिनुपर्ने टिप्पणी गरेका छन्।

अमेरिकी संविधानले सञ्चारमाध्यमलाई कुन कार्यक्रम प्रसारण गर्ने वा नगर्ने भन्ने स्वतन्त्र अधिकार दिएको छ। त्यसैले कुनै पनि नेटवर्कले ट्रम्पको सम्बोधन मुख्य च्यानलमा नदेखाउने निर्णय कानुनी रूपमा गर्न सक्ने व्यवस्था छ।

भाषणअघि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले निर्वाचन सुरक्षा, इरानसँग सम्बन्धित विषय र अमेरिकी अर्थतन्त्रबारे सम्बोधन गर्ने जानकारी दिएकी थिइन्। उनले सबै अमेरिकी नागरिकले राष्ट्रपतिको सम्बोधन प्रत्यक्ष हेर्न पाउनुपर्ने भन्दै प्रमुख नेटवर्कहरूले त्यसलाई प्रसारण गर्नुपर्ने धारणा पनि राखेकी थिइन्।

सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी निर्वाचनमा चीनले हस्तक्षेप गरेको दाबी गर्दै केही गुप्तचर दस्तावेज सार्वजनिक गरेका थिए। साथै उनले अमेरिका–इजरायल पक्ष इरानसँगको द्वन्द्वमा अघि रहेको र अमेरिकी अर्थतन्त्र इतिहासकै उत्कृष्ट अवस्थामा पुगेको दाबी पनि गरे। तर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले निर्वाचन सुरक्षाका विषयमा सन् २०२० को निर्वाचनबारे आफूले पहिलेदेखि लगाउँदै आएका अप्रमाणित आरोपहरू पुनः दोहोर्‍याएका थिए।

ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा धाँधली गरेर आफूलाई पराजित गरिएको दाबी गर्दै आएका छन्। तर अमेरिकी गुप्तचर निकायहरूले चीन वा अन्य कुनै विदेशी शक्तिले उक्त निर्वाचनको नतिजा परिवर्तन गरेको प्रमाण नभेटिएको निष्कर्ष यसअघि नै सार्वजनिक गरिसकेका छन्।

रोयटर्सका अनुसार डेमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्पले पुनः पुष्टि भइसकेका गलत दाबी दोहोर्‍याउने सम्भावना रहेको भन्दै केही प्रमुख टेलिभिजन नेटवर्कलाई सम्बोधन प्रत्यक्ष प्रसारण नगर्न आग्रह गरेका थिए।

यो विवाद अमेरिकी सञ्चारमाध्यमहरू संघीय सञ्चार आयोग (एफसीसी) को अनुसन्धान र राजनीतिक दबाबको सामना गरिरहेका बेला सार्वजनिक भएको हो। एफसीसीका अध्यक्ष ब्रेन्डन कारले भने राष्ट्रपतिको सम्बोधन अमेरिकी जनताले निःशुल्क टेलिभिजनमार्फत हेर्न पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

सम्बन्धित समाचार