स्क्रब टाइफसको जोखिम बढ्दो, चितवनमा एक वर्षमा ८९३ सङ्क्रमित

1.4k Shares

चितवन । गत आर्थिक वर्षमा चितवन जिल्लाका विभिन्न अस्पतालमा परीक्षण गरिएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ। ११ हजार ४१९ जनाको परीक्षण गर्दा उक्त सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ६२१ जना चितवन जिल्लाकै हुन्। स्थानीय तहअनुसार रत्ननगर नगरपालिकामा सबैभन्दा धेरै २४६ जना, खैरहनीमा ११७ जना, भरतपुर महानगरपालिकामा ९० जना, राप्तीमा ८२ जना, कालिकामा ६९ जना, इच्छाकामना गाउँपालिकामा १० जना र माडी नगरपालिकामा ७ जना सङ्क्रमित भेटिएका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात हजार ९५ जनाको परीक्षण गर्दा एक हजार ५५ जनामा स्क्रब टाइफस पुष्टि भएको थियो। चालु आर्थिक वर्षमा भने यस रोगका कारण एक जनाको मृत्यु समेत भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीका अनुसार स्क्रब टाइफस मुसा वा अन्य जनावरमा बस्ने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने रोग हो। यसका प्रमुख लक्षणमा उच्च ज्वरो, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको तथा जोर्नी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको स्थानमा कालो दाग देखिनु पर्छ।

रोगबाट बच्न खेतबारी, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुलाको कपडा र बन्द जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्ने, घर वरपरको वातावरण सफा राख्ने, घाँस धेरै बढ्न नदिने तथा मुसा नियन्त्रणका लागि अन्न सुरक्षित रूपमा भण्डारण गर्न जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

सम्बन्धित समाचार