सरकारबाट बाहिरिने एमालेको निर्णय, मन्त्रीलाई राजीनामा दिन निर्देशन

1.4k Shares

मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिएर सरकार छाड्न निर्देशन दिएको छ।

संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेको जानकारी दिँदै राजीनामापछि पार्टीले आगामी राजनीतिक रणनीति तय गर्ने बताउनुभयो। उहाँका अनुसार मन्त्रीहरूलाई समय मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउन भनिएको छ।

नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारीमा देखिएको विवादका कारण अन्य प्रदेशझैँ बागमती प्रदेशमा पनि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको जनाएको छ।

हाल बागमती प्रदेश सरकारमा एमालेका तीन जना विभागीय र तीन जना बिना विभागीय गरी छ जना मन्त्री छन्। एमालेबाट कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डा‍. दिनेशचन्द्र देवकोटा सरकारमा छन्। यस्तै किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसी बिना विभागीय मन्त्रीका रूपमा कार्यरत छन्।

यद्यपि कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेलले भने राजीनामाबारे आफूलाई औपचारिक जानकारी नआएको प्रतिक्रिया दिनुभएको छ।

एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठले सरकार छाड्ने विषयमा पार्टीभित्र छलफल भइरहेको स्वीकार गरे पनि मन्त्रीहरूको राजीनामाबारे अन्तिम निर्णय भइनसकेको र थप जानकारी आफूलाई प्राप्त नभएको बताउनुभयो।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको प्रदेश सरकारले गत जेठ २१ गते मन्त्रालयको संख्या १४ बाट घटाएर आठ बनाउने निर्णय गरेको थियो। उक्त निर्णय साउन १ गतेदेखि कार्यान्वयनमा आएपछि आठ मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ भने छ जना मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ।

सम्बन्धित समाचार