कोलम्बो । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी)का महासचिव तिल्भिन सिल्भासँग भेटवार्ता गरेका छन् ।
कोलम्बोस्थित जेभीपीको केन्द्रीय कार्यालयमा भएको भेटमा विश्व कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, नेपाल र श्रीलंकाको राजनीतिक अनुभव, समकालीन चुनौती तथा भविष्यमा दुई दलबीचको सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।
भेटका क्रममा नेपाल कम्युनिस्ट पार्टी र जनता विमुक्ति पेरामुनाबीचको सम्बन्धलाई अझ संस्थागत, सुदृढ र प्रभावकारी बनाउने विषयमा पनि दुवै नेताबीच सहमति भएको जनाइएको छ । साथै, एसियाका समाजवादी तथा प्रगतिशील शक्तिबीच वैचारिक, राजनीतिक र सांगठनिक सहकार्य विस्तार गर्दै साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।
दुवै पक्षले समाजवादलाई साझा लक्ष्यका रूपमा अघि बढाउन विभिन्न देशका वामपन्थी दलबीच अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र निरन्तर सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत सहमति व्यक्त गरेका छन् ।
यसअघि ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन श्रीलंका पुगेका प्रचण्डले उद्घाटन सत्रलाई सम्बोधन गर्दै एसियाली समाजवादी शक्तिबीच व्यापक एकता, साम्राज्यवादविरुद्ध साझा प्रतिरोध र समाजवादको नयाँ राजनीतिक रूपरेखाको आवश्यकतामा जोड दिएका थिए ।