प्रदेशलाई प्रतिपक्षविहीन बनाउने खेल स्वीकार्य छैन : गगन थापा

1.6k Shares

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका नाममा तीन ठूला दल मिलेर प्रतिपक्षविहीन सरकार बनाउने प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनले यस्तो अभ्यास जनताको जनादेश र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताएका छन् ।

ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै थापाले सत्ता प्राप्तिका लागि विगतमा भएका गल्ती अब नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले सरकार गठनका लागि सिद्धान्तमा सम्झौता नगर्ने कांग्रेसको अडान रहेको बताए ।

थापाले तीन दल मिलेर प्रदेश सरकार बनाउँदा प्रदेशसभामा प्रभावकारी प्रतिपक्षको भूमिका समाप्त हुने र त्यसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने धारणा राखे । सरकारमा सहभागी हुनु मात्रै कांग्रेसको उद्देश्य नभएको उल्लेख गर्दै उनले जनादेशको सम्मान गर्दै राजनीति अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले विगतका वर्षहरूमा सत्ता समीकरण बारम्बार फेरिने, चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्को दलसँग सरकार बनाउने प्रवृत्तिले राजनीतिक दलहरूको विश्वसनीयता घटाएको टिप्पणी गरे । यस्ता अभ्यासका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको उनको भनाइ थियो ।

सभापति थापाले अब नेपाली कांग्रेस सत्ता केन्द्रित राजनीतिभन्दा पनि आफ्नो सिद्धान्त, लोकतान्त्रिक मूल्य र नागरिकले दिएको जनादेशप्रति इमानदार भएर अघि बढ्ने बताए । प्रदेश सरकार गठनका विषयमा आउने जुनसुकै प्रस्तावमा पनि पार्टीले आफ्नो सिद्धान्तलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार