चुच्चे नक्सा हटाउने निर्णय अस्वीकार्य’ : भीम रावलले सरकारमाथि लगाए राष्ट्रघातको आरोप

1.2k Shares

काठमाडौं – पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता भीम रावलले एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने सरकारको निर्णय भएको भन्ने विषयलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएका छन्। उनले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको विषयमा सरकारले गरेको भनिएको निर्णय अस्वीकार्य रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको आधिकारिक नक्सालाई संविधान संशोधनमार्फत मान्यता दिइसकेपछि त्यसलाई सिक्काबाट हटाउने कुनै पनि प्रयास राष्ट्रिय हितविपरीत हुने उल्लेख गरेका छन्।

उनले सरकारले यदि वास्तवमै नयाँ सिक्काको डिजाइनबाट चुच्चे नक्सा हटाउने निर्णय गरेको हो भने त्यसबारे तत्काल स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोडिएको विषयमा जनतालाई जानकारी नदिई निर्णय गर्नु उचित नहुने उनको भनाइ छ।

रावलले नेपालको नक्सा कुनै सामान्य चित्र नभई संविधान, संसद्को सर्वसम्मत निर्णय र नेपाली जनताको राष्ट्रिय भावनाको प्रतीक भएको उल्लेख गर्दै त्यसमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनले यस्तो निर्णयले नेपालको राष्ट्रिय हित कमजोर पार्ने दाबी गर्दै सरकारले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्।

पछिल्लो समय एक रुपैयाँको सिक्काको नयाँ डिजाइनमा नेपालको चुच्चे नक्सा नराखिएको भन्ने चर्चा सार्वजनिक भएपछि त्यसलाई लिएर राजनीतिक वृत्तमा बहस सुरु भएको छ। यद्यपि सिक्काको डिजाइन परिवर्तनबारे सम्बन्धित सरकारी निकायबाट विस्तृत आधिकारिक स्पष्टीकरण आउन बाँकी छ। भीम रावलको पछिल्लो अभिव्यक्तिले भने उक्त विषयलाई थप राजनीतिक बहसको केन्द्रमा ल्याएको छ।

सम्बन्धित समाचार