काठमाडौं । काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली प्रहार गरी एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार ब्युरोबाट इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोली कुलेश्वर पुल नजिक पुगेको थियो। लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ गर्न खोज्दा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ।
ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट ठूलो परिमाणमा औषधीजन्य लागुऔषध बरामद गरिएको छ। प्रहरीले बरामद भएको लागुऔषधको परिमाण र प्रकृतिबारे भने विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।
प्रहरीको गोली लागेर भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ। घाइतेको उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। प्रहरीले घटनासम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने जनाएको छ।