सेवाग्राहीको भीड र अतिरिक्त खर्च घटाउन लाइसेन्स स्वास्थ्य परीक्षणमा नयाँ व्यवस्था
1.3k
Shares
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न आवश्यक स्वास्थ्य परीक्षणलाई थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयलाई अनुरोध गरेको छ ।
विभागअन्तर्गतको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईले गत असार ३२ गते जारी गरेको परिपत्रमार्फत उक्त अनुरोध गरिएको हो ।
परिपत्रमा हालको व्यवस्थाका कारण स्वास्थ्य परीक्षणका क्रममा सेवाग्राहीले अनावश्यक भीडभाड, अतिरिक्त आर्थिक भार र सीमित समूहको संलग्नताबाट सिन्डिकेटजस्ता समस्या भोग्नुपरेको उल्लेख गरिएको छ ।
सेवा प्रवाहलाई थप सरल, पारदर्शी र एकरूप बनाउन मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाट जारी स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिन आवश्यक रहेको विभागको भनाइ छ ।
विभागका अनुसार यससम्बन्धी निर्णय गत जेठ १३ गतेको मन्त्रिस्तरीय बैठकबाट भएको हो । सोही निर्णय कार्यान्वयनका लागि सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको जनाइएको छ ।
विभागले यो व्यवस्था लागू भएपछि चालक अनुमतिपत्रका लागि गरिने स्वास्थ्य परीक्षण थप व्यवस्थित, मर्यादित र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरेको छ । साथै स्वास्थ्य परीक्षणमा देखिँदै आएको सीमित संस्थाको एकाधिकार अन्त्य भई सर्वसाधारणलाई सहज सेवा उपलब्ध हुने विश्वास पनि व्यक्त गरेको छ ।
यसैबीच, यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकहरूको विवरण उपलब्ध गराइदिन काउन्सिलसँग अनुरोध गरेको छ । विभागले साउन १ गते काउन्सिललाई पत्राचार गर्दै दर्ता भएका चिकित्सकहरूको अद्यावधिक विवरण माग गरेको जनाएको छ ।