काठमाडौँ । फिफा विश्वकप २०२६ सकिएसँगै प्रतियोगिताले मैदानभित्रका रोमाञ्चक खेलमात्र होइन, मैदानबाहिरका अनेक अविस्मरणीय क्षण पनि छाडेको छ।
एक महिनाभन्दा बढी समय विश्व फुटबलमाथि केन्द्रित बनेको प्रतियोगितामा खेलाडीहरूको प्रदर्शनसँगै समर्थक, चर्चित व्यक्तित्व र सामाजिक सञ्जालका गतिविधि पनि उत्तिकै चर्चामा रहे।
विश्वकपका क्रममा सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चा बटुलेको दृश्यमध्ये एक थियो इङ्गल्याण्डका पूर्वकप्तान डेभिड बेकहम र उनकी पत्नी भिक्टोरिया बेकहमको प्रतिक्रिया।
इङ्गल्याण्ड र नर्वेबीचको खेलमा जुड बेलिङ्घमले गोल गरेपछि डेभिड बेकहम खुसीले उफ्रिँदै उत्सव मनाइरहेका थिए। तर, भिपी बक्समा रहेकी भिक्टोरिया बेकहम भने शान्त मुद्रामा बसेको दृश्य भाइरल बनेपछि त्यसलाई लिएर सामाजिक सञ्जालमा अनेक मेम र टिप्पणी बने।
यस्तै, समूह चरणबाटै बाहिरिए पनि स्कटल्याण्डका समर्थकले अमेरिकाको बोस्टन सहरमा छुट्टै माहोल सिर्जना गरे। ‘टार्टन आर्मी’ नामले चिनिने समर्थकहरू बाजागाजासहित सडकमा मार्च गर्दै फेनवे पार्कसम्म पुगेका थिए। उनीहरूको सांगीतिक उत्साहलाई स्थानीय अमेरिकी खेल समुदायले समेत दुर्लभ दृश्यका रूपमा लिएको थियो।
यस विश्वकपमा चर्चित युट्युबर तथा स्ट्रिमर आइसोस्पीड पनि विशेष आकर्षण बने। पाँच करोडभन्दा बढी फलोअर्स भएका उनले रंगशालाभित्रबाट प्रत्यक्ष प्रसारण गर्दै विश्वकपको माहोल आफ्ना दर्शकमाझ पुर्याए।
समापन समारोहमा उनले सांगीतिक प्रस्तुति पनि दिएका थिए। प्रतियोगिताका क्रममा आफ्ना आदर्श खेलाडी क्रिस्टियानो रोनाल्डोबाट खेलमा प्रयोग गरिएको बुट उपहार पाएको क्षण पनि निकै चर्चित बन्यो।
विश्वकपको अर्को भावनात्मक कथा केप भर्डेको रह्यो। पहिलो पटक नकआउट चरण पुगेको सानो राष्ट्र केप भर्डेका ४० वर्षीय गोलकिपर भिजिन्या र उनकी आमाबीच तालिमका क्रममा भएको भेटले धेरै समर्थकलाई भावुक बनाएको थियो।
त्यस्तै, अर्जेन्टिनाविरुद्ध बराबरी गोल गरेका सिड्नी काब्राल दर्शकदीर्घामा पुगेर आफ्ना प्रियजनलाई अँगालो हालेको दृश्य पनि सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएको थियो।
यसका अतिरिक्त विभिन्न सञ्चारमाध्यमका रोचक कमेन्ट्री, समर्थकका सिर्जनात्मक भिडियो, सामाजिक सञ्जालमा बनेका मेम तथा प्रविधिमार्फत गरिएका विश्लेषणले पनि विश्वकप २०२६ लाई मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि उत्तिकै मनोरञ्जनपूर्ण र सम्झनलायक बनाएको छ।