काठमाडौं । काठमाडौंका नाटकघरहरू यतिबेला दर्शकको उल्लेख्य उपस्थितिले भरिभराउ देखिन थालेका छन्। मण्डला, शिल्पी, कौसी, सर्वनाम, कुञ्ज र श्रीओजसलगायतका थिएटरमा नियमित रूपमा नाटक मञ्चन भइरहेका छन् भने विशेषगरी युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। यसले नेपाली रङ्गमञ्चमा नयाँ ऊर्जा थपिएको संकेत गरेको छ।
हाल नेपाली रङ्गमञ्च व्यावसायिकताको दिशामा अघि बढिरहेको देखिए पनि मञ्चमा अभिनय गर्ने अधिकांश कलाकारको आर्थिक अवस्था भने अझै सुदृढ हुन सकेको छैन। वर्षौंदेखि रङ्गमञ्चमा सक्रिय कलाकारसमेत अभिनयलाई मात्रै आधार बनाएर जीवनयापन गर्न सक्ने अवस्थामा छैनन्।
वरिष्ठ रङ्गकर्मी सुनील पोखरेलले नाटकलाई आफ्नो साधना र जीवनको विद्यालयका रूपमा लिने बताउनुहुन्छ। उहाँका अनुसार नाटकले पहिचान, आत्मसन्तुष्टि, साथी र दर्शक दिएको भए पनि आर्थिक रूपमा अझै चुनौती कायमै छ।
उहाँ भन्नुहुन्छ, “नाटक खेल्दा फरक–फरक पात्रमार्फत फरक जीवनको अनुभव गर्न पाइन्छ। रङ्गमञ्च रमाउने ठाउँ हो, पैसा कमाउने माध्यम भने अझै बनेको छैन।” नेपालमा रङ्गमञ्च र रङ्गकर्मीले अझै धेरै संघर्ष गर्नुपर्ने उहाँको धारणा छ।
वरिष्ठ नाट्यकर्मी तथा सर्वनाम नाट्य समूहका अध्यक्ष अशेष मल्लले पछिल्लो समय युवापुस्ताको सक्रिय सहभागिताले नेपाली रङ्गमञ्चमा नयाँ आशा जगाएको बताउनुहुन्छ। उहाँका अनुसार कलाकार मात्र होइन, नाटक हेर्न आउने दर्शकमध्ये पनि अधिकांश युवा नै छन्, जसले थिएटर संस्कृतिलाई पुनः जीवन्त बनाएको छ।
यस्तै, नाट्यकर्मी केदार श्रेष्ठले कोभिड महामारी, सामाजिक परिवर्तन तथा केही समय देखिएको सुस्ततापछि नेपाली रङ्गमञ्चले फेरि लय समात्न थालेको बताउनुभयो। उहाँका अनुसार अहिले अधिकांश नाटकघरमा दर्शकको राम्रो उपस्थिति देखिन थालेको छ, जसले थिएटरप्रतिको बढ्दो रुचिलाई पुष्टि गर्छ।
रङ्गकर्मी रूपेश मण्डलका अनुसार दर्शकको संख्या बढ्नु सकारात्मक संकेत भए पनि त्यो आकर्षणलाई दीर्घकालीन बनाउन नाटकको गुणस्तर अझ सुदृढ हुन आवश्यक छ। उहाँले लेखक, निर्देशक र कलाकारले प्रस्तुतीकरणलाई अझ परिष्कृत बनाउनुपर्नेमा जोड दिनुभयो।
“दर्शकलाई हलसम्म ल्याउने र अन्तिम दृश्यसम्म बाँधेर राख्ने शक्ति राम्रो रङ्गशिल्पमै हुन्छ,” उहाँले भन्नुभयो।
रङ्गमञ्चमा अहिले दर्शकको उत्साह, युवा पुस्ताको सक्रियता र कलात्मक प्रयोग बढ्दो क्रममा भए पनि कलाकारको आर्थिक सुरक्षा अझै चुनौतीकै विषय बनेको छ। कला र साधनाप्रतिको समर्पणले नेपाली थिएटरलाई नयाँ उचाइतर्फ डोर्याइरहे पनि कलाकारको जीविकोपार्जन सुनिश्चित गर्ने संरचना विकास गर्नुपर्ने आवश्यकता अझै टड्कारो देखिएको छ।