रास्वपाद्वारा सांसदलाई पाँचबुँदे निर्देशन, जनसंवाद र संगठन सुदृढीकरणमा जोड

1.7k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीति, जनसंवाद र साङ्गठनिक समन्वयसम्बन्धी पाँचबुँदे निर्देशन जारी गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको परिपत्रमा सांसदहरूको भ्रमण औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सुदृढ बनाउने तथा जनताका मुद्दालाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

परिपत्रमा सुशासन, जवाफदेहिता र नागरिककेन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संसद् र नागरिकबीच जीवन्त संवाद आवश्यक रहेको पनि उल्लेख छ।

रास्वपाले सांसदहरूलाई भ्रमणअघि सम्बन्धित जिल्ला र पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्न निर्देशन दिएको छ। आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य जिल्लामा कार्यक्रम तय गर्दा सम्बन्धित सांसद तथा पार्टी संरचनालाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, स्थानीय पार्टी समितिसँग छलफल गरेर क्षेत्रका ज्वलन्त समस्या पहिचान गर्न, ती विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि प्राथमिकतामा राख्न पनि निर्देशन दिइएको छ।

पार्टीले भ्रमण तथा कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको नेतृत्व र अपनत्व सुनिश्चित गर्न, तडकभडक तथा अनावश्यक खर्च नगरी मितव्ययी ढंगले कार्यक्रम सञ्चालन गर्न तथा सुशासनको सन्देश प्रवाह गर्न सांसदहरूलाई आग्रह गरेको छ।

यसैगरी, जनभ्रमणका क्रममा प्राप्त सुझाव, गुनासा र स्थानीय समितिका प्रतिवेदनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी संसदीय दलमा पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

महामन्त्री आचार्यले सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक रहेको उल्लेख गर्दै सुव्यवस्थित र समन्वयात्मक कार्यशैलीले मात्रै दलको संस्थागत परिपक्वता र जनताप्रतिको जवाफदेहिता थप मजबुत बन्ने बताएका छन्।

RSp.jpg

सम्बन्धित समाचार