वर्षाले डुब्यो शुक्लाफाँटा पीडितको भगतपुर बस्ती, ५०० परिवार प्रभावित
1.4k
Shares
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित भगतपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको अस्थायी बस्ती अविरल वर्षापछि डुबानमा परेको छ। डुबानका कारण त्यहाँ बसोबास गरिरहेका करिब ५०० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
आरक्ष पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाका अनुसार लगातारको वर्षाका कारण सम्पूर्ण बस्ती जलमग्न भएको हो। जिल्ला वन डिभिजन कार्यालय नजिक रहेको उक्त बस्तीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरू २०८२ सालको असोजदेखि प्रमुख जिल्ला अधिकारी र जिल्ला वन कार्यालयको सहमतिमा अस्थायी रूपमा बस्दै आएका छन्।
भीमदत्त–४ का वडाध्यक्ष सुशीलकुमार भट्टले प्रारम्भिक चरणमा पीडित परिवारलाई बिजुली र खाद्यान्नको व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रमा बाढी र पहिरोको उच्च जोखिम नभए पनि भू–भाग होचो भएकाले वर्षायाममा हरेक वर्ष डुबान हुने समस्या दोहोरिने गरेको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिसकेको बताउँदै सम्भव भएसम्म पीडितहरूलाई आफ्नै घर फर्किन आग्रह गरिएको जानकारी दिए। साथै, प्रशासनले आवश्यक मानवीय सहयोग उपलब्ध गराउन तयार रहेको पनि उनले बताए।
संघर्ष समितिका अध्यक्ष रोकायाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितहरूको समस्या समाधानमा सरकारले विगत साढे दुई दशकदेखि बेवास्ता गर्दै आएको आरोप लगाए। उनका अनुसार विभिन्न समयमा ३३ भन्दा बढी आयोग गठन भए पनि विस्थापितहरूको पुनःस्थापना र व्यवस्थापनको समस्या समाधान हुन सकेको छैन।
२०५८ सालमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारहरू अहिले पनि विभिन्न १७ वटा शिविरमा बस्दै आएका छन्। सरकारले पटक–पटक पुनःस्थापनाको आश्वासन दिए पनि कार्यान्वयन नगरेपछि उनीहरू २०६४ सालदेखि अस्थायी शिविरमै बस्न बाध्य भएका हुन्।
पीडितहरूका अनुसार ढक्का शिविरमा ६०४, तारापुरमा १८०, लल्लरेडाँडामा १३ तथा बाणी, सिसमघारी, मालुबेला, सिमलफाँटा, वनहरा, वैशाखा, सुडा र बेलडाँडीलगायत क्षेत्रमा गरी कुल २ हजार ४७३ परिवार अहिले पनि अस्थायी बसोबासमा रहेका छन्।
रोकायाले सरकारसँग पटक–पटक सम्झौता भए पनि कुनै पनि प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो गरे। जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएपछि प्रशासनले मौखिक सहमतिमा भगतपुर क्षेत्रमा बस्न दिएको भए पनि अहिले वर्षाले त्यही आश्रयस्थलसमेत डुबाएको उनले बताए।
‘सरकारले वर्षौंदेखि हामीलाई बेवास्ता गरिरहेको थियो, अहिले त वर्षाले पनि विस्थापित बनायो,’ अध्यक्ष रोकायाले दुःख व्यक्त गरे।