बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’, जलवायु सचेतनामा विशेष कार्यक्रम

1.4k Shares

काठमाडौं। नेपाली कांग्रेसले जननायक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा बुधबार ५ किलोमिटर लामो ‘ग्रिन रन’ आयोजना गरेको छ।

‘जलवायु जनचेतना जगाऔँ’ भन्ने नारासहित आयोजना गरिएको दौडको उद्घाटन कांग्रेसका सभापति गगनकुमार थापाले युएन पार्कबाट गरेका हुन्।

युएन पार्कबाट सुरु भएको ‘ग्रिन रन’ जावलाखेल पुगेर समापन हुनेछ। दौडमा कांग्रेसका नेता–कार्यकर्ता, युवालगायत विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको छ।

दौड सम्पन्न भएपछि जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौती र निराकरण कसरी ?’ विषयमा विज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिने कार्यक्रम छ।

त्यसैगरी, सोही स्थलमा चर्चित चित्रकारहरूले जलवायु परिवर्तनका चुनौती, प्रभाव र सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्ने विशेष पेन्टिङ कार्यक्रम पनि सञ्चालन गरिने नेपाली कांग्रेसले जनाएको छ।

बीपी कोइरालाको स्मृति दिवसलाई वातावरण संरक्षण र जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धिसँग जोड्दै कांग्रेसले यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरेको हो।

 
 
 
सम्बन्धित समाचार