संसद्मा शीर्ष नेताको कमजोर उपस्थिति, बालेनभन्दा पनि कम बैठकमा पुगे प्रचण्ड

1.3k Shares

काठमाडौं, साउन ६ — प्रतिनिधिसभाको चालु कार्यकालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसद् उपस्थितिलाई लिएर प्रश्न उठ्न थालेको छ। संघीय संसद् सचिवालयको तथ्यांकअनुसार हालसम्म बसेका ४१ वटा प्रतिनिधिसभा बैठकमध्ये प्रधानमन्त्री बालेन ६ वटा बैठकमा मात्र सहभागी भएका छन् भने प्रचण्डको उपस्थिति झन् कम, पाँच बैठकमा सीमित रहेको छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको पहिलो र दोस्रो अधिवेशन गरी हालसम्म ३८ दिनमा ४१ वटा बैठक बसेका छन्। तर शीर्ष नेताहरू र अधिकांश मन्त्रीहरूको उपस्थितिदर अपेक्षाभन्दा निकै न्यून देखिएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बे भने ४१ मध्ये ३५ बैठकमा उपस्थित भएर तुलनात्मक रूपमा सक्रिय देखिएका छन्। रास्वपाका सभापति रवि लामिछाने २१ तथा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ २४ बैठकमा सहभागी भएका छन्।

मन्त्रीहरूको उपस्थितिसमेत सन्तोषजनक नरहेको तथ्यांकले देखाएको छ। ऊर्जा, शिक्षा, परराष्ट्र, पूर्वाधार लगायतका मन्त्रालयका मन्त्रीहरू १० भन्दा कम बैठकमा सहभागी भएका छन् भने विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ३० बैठकमा उपस्थित भएर सबैभन्दा सक्रिय मन्त्रीमध्ये परेका छन्।

संसदीय अभ्यासमा प्रधानमन्त्री र मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिनु तथा संसद्प्रति जवाफदेही हुनु संवैधानिक दायित्व मानिन्छ। प्रतिनिधिसभा नियमावलीले आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था गरेको छ। साथै प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान पनि छ। तर यी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै संसद्भित्रै पटक–पटक प्रश्न उठ्दै आएको छ।

पूर्वसांसद तथा संसदीय अध्येताहरूका अनुसार संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले प्रधानमन्त्री, मन्त्री तथा शीर्ष नेताको नियमित उपस्थिति लोकतान्त्रिक उत्तरदायित्वको महत्वपूर्ण आधार हो। उनीहरूका अनुसार संसद्मा कम उपस्थित हुनु जनप्रतिनिधिको जिम्मेवारीप्रतिको उदासीनताको संकेत हुन सक्ने भएकाले सरकारले संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

सम्बन्धित समाचार