मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

2.3k Shares

काठमाडौं । सरकारले विशेष अदालत र श्रम अदालतका अध्यक्ष नियुक्तिदेखि मिटरब्याजसँग सम्बन्धित फर्जी लिखत अवैध घोषणा गर्ने निर्णयसम्मका सात महत्वपूर्ण निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न प्रशासनिक, न्यायिक, आर्थिक तथा सार्वजनिक हितसँग सम्बन्धित निर्णयहरू भएको जानकारी दिए।

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू :

  • विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय।
  • श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय।
  • गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय।
  • पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय।
  • मिटरब्याज पीडितसँग २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने तथा सम्झौताअनुसार मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने निर्णय।
  • गणेश नेपालीको आत्महत्या घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय।
  • आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय।

सरकारले यी निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। मन्त्रिपरिषद्का निर्णयले न्याय प्रशासन, नागरिक राहत, हवाई सेवा प्रवर्द्धन तथा सामाजिक–आर्थिक क्षेत्रसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेको सरकारको भनाइ छ।

सम्बन्धित समाचार