भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिकाले अस्पताल भवन निर्माणका क्रममा एउटै प्रकृतिका काममा दुई फरक ठेक्कामार्फत भुक्तानी गरेको विषयमा महालेखा परीक्षकको कार्यालय र गाउँपालिकाबीच फरक–फरक दाबी सार्वजनिक भएका छन्।
महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले यस प्रक्रियाबाट २२ लाख ७९ हजार १७० रुपैयाँ अनियमितता भएको औँल्याएको छ। प्रतिवेदनअनुसार पहिलो ठेक्काको कार्यान्वयन अवस्था लेखा परीक्षणका क्रममा स्पष्ट रूपमा पेस नगरिएको उल्लेख गरिएको छ। त्यसपछि गाउँपालिकाले पहिलो ठेक्का अन्तर्गत भवन भत्काउने काम सम्पन्न नभएको जनाउँदै दोस्रो ठेक्कामा पुनः सोही काम समावेश गरी भुक्तानी गरेको देखिएको महालेखाको निष्कर्ष छ।
महालेखाले सार्वजनिक खरिद प्रक्रियामा एउटै प्रकृतिको काम दोहोरिएर समावेश गरिएको भन्दै त्यसको औचित्य पुष्टि गर्नुपर्ने आवश्यकता औँल्याएको छ। यद्यपि गाउँपालिकाले महालेखाको प्रतिवेदनमा उल्लेख गरिएका विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले भने प्रारम्भिक निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेकाले अर्को निर्माण कम्पनीमार्फत बाँकी काम सम्पन्न गराइएको बताउनुभयो। उहाँले सो प्रक्रियामा कुनै आर्थिक हिनामिना नभएको दाबी गर्दै निर्माण कार्य सम्पन्न गराउने उद्देश्यले मात्र दोस्रो ठेक्का दिइएको स्पष्ट पार्नुभयो।
महालेखाको प्रतिवेदन र गाउँपालिकाको दाबीबीच फरक दृष्टिकोण देखिएकाले उक्त विषयमा थप छानबिन तथा आवश्यक कागजातको परीक्षणपछि मात्र वास्तविक अवस्था स्पष्ट हुने सरोकारवालाको भनाइ छ।