काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा स्थापित गर्न आवश्यक नीतिगत र कानुनी सुधार अघि बढाइने बताएका छन्।
चलचित्रलाई सिर्जनात्मक अभिव्यक्तिको माध्यम मात्र नभई रोजगारी, लगानी र आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको उनले स्पष्ट पारे।
बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा चलचित्रकर्मीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले चलचित्र उद्योगलाई औपचारिक रूपमा उद्योगको मान्यता दिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरी नीति निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए।
उनका अनुसार चलचित्र निर्माणमा लगानी आकर्षित गर्न निर्माता तथा उत्पादन कम्पनीका लागि आवश्यक सेवा–सुविधा उपलब्ध गराउने, चलचित्र निर्माणका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न पहल गर्ने तथा आवश्यक कानुनी र वित्तीय प्रबन्ध आर्थिक विधेयकमार्फत समावेश गराउन सरकार तयार छ।
मन्त्री तिमिल्सिनाले लगानीमैत्री वातावरण सिर्जना गर्न नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै सरकारले चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि आवश्यक वित्तीय तथा कानुनी आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले चलचित्र नेपाली भाषा, कला, संस्कृति र राष्ट्रिय पहिचानलाई विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यसले पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय छवि निर्माण तथा राजस्व वृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए। यही सम्भावनालाई ध्यानमा राख्दै चालु आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि बजेट विनियोजन गरिएको पनि उनले जानकारी दिए।
चलचित्रकर्मीका सुझाव
छलफलमा चलचित्र निर्देशक तथा केन्द्रीय चलचित्र जाँच समिति सदस्य मनोज पण्डित, नेपाल चलचित्र निर्माता सङ्घका महासचिव खगेन्द्र लामिछाने, निर्देशक तथा निर्माता निश्चल बस्नेत तथा निर्माता एवं छायाकार शैलेन्द्रध्वज कार्की सहभागी थिए।
उनीहरूले चलचित्र क्षेत्रमा लगानीको सुरक्षा, उत्पादन लागत घटाउने उपाय, अन्तर्राष्ट्रिय बजार विस्तार, सरकारी प्रोत्साहन, कर सहुलियत तथा चलचित्रमैत्री नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए।