काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले बाजुराको बडिमालिका नगरपालिका–९ मा १३ परिवार विस्थापित भएका छन्। बिहीबार राति सेलागाड खोला र बाउली खोलाको दोभान क्षेत्रबाट बस्तीमा बाढी पसेपछि स्थानीयवासीलाई तत्काल सुरक्षित स्थानमा सारिएको हो।
प्रहरीका अनुसार बस्ती जोखिममा परेपछि प्रहरीसहितको उद्धार टोलीले राति नै प्रभावित परिवारको उद्धार गरी नजिकै रहेका स्थानीयका सुरक्षित घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था गरेको छ। विस्थापित १३ परिवारमध्ये तीन घर अत्यन्त उच्च जोखिममा रहेको जनाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका एक सयभन्दा बढी गाउँ बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन्।
यता, लगातारको वर्षासँगै पहिरो खस्दा जिल्लाका दुई स्थानमा सडक पनि अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको क्षेत्रमा पहिरो झरेपछि यातायात आवागमन प्रभावित भएको जिल्ला प्रहरीले जनाएको छ।
प्रशासनले वर्षा जारी रहेकाले नदी–खोला आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।