धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डा. गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी विरोध र अनशन फिर्ता नलिए प्रतिअनशन सुरु गर्ने चेतावनी दिएको छ।
समितिका संयोजक लोकराज पाण्डेले भिडियो सन्देश जारी गर्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको विरोध कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्।
उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति खारेज गर्नुपर्ने मागसहित जारी डा. केसीको अनशन तत्काल फिर्ता लिन आग्रह गर्दै माग नफिर्ता लिए सरकार र डा. केसीविरुद्ध नै प्रतिअनशन सुरु गर्ने चेतावनी दिएका छन्।
पाण्डेले सुदूरपश्चिमका नागरिकको भावना, अधिकार र आकांक्षामाथि आघात पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै विश्वविद्यालय सञ्चालन प्रक्रियालाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गरे।
यता, डा. गोविन्द केसी धनगढीमा आफ्नो २४औँ सत्याग्रह जारी राखिरहेका छन्। उनले चिकित्सा शिक्षा सुधारसँगै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विषयलाई पनि आन्दोलनको प्रमुख एजेन्डा बनाएका छन्।
डा. केसीले गेटामा विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया उपयुक्त नभएको, हतारमा निजी स्वार्थ समूहलाई फाइदा पुग्ने गरी कानुन ल्याइएको आरोप लगाउँदै आएका छन्।