राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकराज लोकबहादुर पौडेल क्षेत्रीले लामिछानेको चीन भ्रमणका विषयमा मन्त्रालयमा कुनै आधिकारिक सूचना नआएको स्पष्ट पार्नुभयो।
“हालसम्म उहाँको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई कुनै पनि प्रकारको औपचारिक जानकारी आएको छैन,” प्रवक्ता क्षेत्रीले भन्नुभयो।
उहाँका अनुसार उक्त भ्रमण राजनीतिक दल–दलबीचको प्रकृतिको हुन सक्ने भएकाले त्यससम्बन्धी समन्वय सम्बन्धित दलले नै गरिरहेको हुन सक्छ। यदि सम्बन्धित दलले परराष्ट्र मन्त्रालयसँग समन्वयको अनुरोध गरेमा आवश्यक सहजीकरण गरिने उहाँले बताउनुभयो।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपा सभापति लामिछाने चीन भ्रमणको तयारीमा रहेको चर्चा भए पनि भ्रमणको मिति भने अझै सार्वजनिक भएको छैन। पार्टी स्रोतका अनुसार उहाँ भदौको पहिलो वा दोस्रो सातामा चीन जान सक्ने सम्भावना रहेको छ।
यसअघि सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए। पाँचदिने भ्रमण पूरा गरी उहाँ नेपाल फर्किनुभएको थियो।