सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनुभएको छ। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले औपचारिक रूपमा राजीनामाको घोषणा गर्नुभएको हो।
मुख्यमन्त्री कँडेलविरुद्ध गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो।
यसअघि सत्ता साझेदार नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिँदै असार ३१ गते आफ्ना चार मन्त्रीको सामूहिक राजीनामा दिएको थियो। आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पद त्याग गरेका थिए।
यामलाल कँडेल २०८० चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। त्यसबेला तत्कालीन माओवादी केन्द्रको समर्थनमा उहाँ नेतृत्वको सरकार गठन भएको थियो। पछि केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पतन भएपछि कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै त्यसको प्रभाव कर्णाली प्रदेश सरकारमा पनि परेको थियो।
सत्ता समीकरण परिवर्तनसँगै प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री कँडेलले अविश्वास प्रस्तावको सामना गर्नु अघि नै राजीनामा दिने निर्णय गर्नुभएको हो।