सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रदेश प्रमुखको कार्यालयले संविधानको व्यवस्था अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको हो।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई साउन १२ गते साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखका सचिव हिरालाल चौधरीले उक्त जानकारी दिएका हुन्।
यसअघि शनिबार मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गरेसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढाइएको हो।
मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि उनले पद त्याग गरेका थिए। असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए। त्यसपछि केन्द्रको राजनीतिक समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेसको समर्थनमा आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार उनले २०८१ साउन २१ गते दोस्रो पटक विश्वासको मत लिएर सरकारको नेतृत्व गरेका थिए।
अब नयाँ सरकार गठनका लागि दलहरूबीचको राजनीतिक छलफल र समर्थन जुटाउने प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ।