आत्मदाह प्रयास गरेकी कैलालीकी महिलाको उपचारका क्रममा मृत्यु
1.5k
Shares
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योती चौधरीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन ९ गते साँझ करिब ७ः३० बजे चौधरीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनापछि आफन्तले उनलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए।
शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा अस्पतालले थप उपचारका लागि साउन १० गते बिहान नेपालगञ्जस्थित भेरी अस्पताल रेफर गरेको थियो।
तर, आफन्तले उनलाई भेरी अस्पताल नलगी काठमाडौं उपचारका लागि लैजाने क्रममा धादिङ पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार मृतकको शव धनगढी ल्याएर सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।