तीन प्रदेशमा मुख्यमन्त्री फेर्ने तयारीमा एमाले, आकांक्षी नेताबीच प्रतिस्पर्धा

1.9k Shares

काठमाडौं । नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएसँगै तीन प्रदेशमा एमालेले नयाँ मुख्यमन्त्री अघि सार्ने तयारी गरेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने सहमतिपछि वर्तमान मुख्यमन्त्रीको निरन्तरताभन्दा नयाँ अनुहारलाई अवसर दिने विषयमा पार्टीभित्र छलफल तीव्र बनेको छ।

कोशीमा हिक्मतको विकल्प खोजिँदै

कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई परिवर्तन गरेर ताप्लेजुङका एमाले नेता तिलकुमार मेन्याङ्बोलाई जिम्मेवारी दिने विषयमा अध्यक्ष केपी शर्मा ओलीले छलफल थालेका छन्। ओली र मेन्याङ्बोबीच आइतबार भेटवार्ता भएको बताइएको छ।

यद्यपि, कार्कीले भने आफूलाई हटाउने निर्णय पार्टीको सचिवालयबाट हुनुपर्ने अडान राख्दै मुख्यमन्त्री पद नछोड्ने संकेत दिएका छन्। यसले कोशीमा नेतृत्व परिवर्तन सहज नहुने देखिएको छ।

बागमतीमा तीन नेताको दाबी

बागमती प्रदेशको नेतृत्व एमालेले पाउने निश्चित भएपछि मुख्यमन्त्री बन्न तीन नेताबीच प्रतिस्पर्धा देखिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलिया, किरण थापा मगर र पूर्वमन्त्री केशवप्रसाद पोखरेलले नेतृत्वका लागि दाबी गरिरहेका छन्।

यसअघि भएको आन्तरिक समझदारीअनुसार आफ्नो पालो आएको भन्दै थपलियाले मुख्यमन्त्री बन्ने अपेक्षा राखेका छन्। तर नेतृत्वले नयाँ समीकरणका आधारमा अन्य विकल्पबारे पनि छलफल गरिरहेको स्रोतहरूको भनाइ छ।

लुम्बिनीमा पनि नयाँ अनुहारको चर्चा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको स्थानमा नयाँ नेतृत्व ल्याउने विषयमा पनि एमालेभित्र छलफल चलिरहेको छ। पूर्वमुख्यमन्त्री लीला गिरी र पूर्वमन्त्री भूमिश्वर ढकालको नाम सम्भावित विकल्पका रूपमा अगाडि आएको छ।

दुवै नेताले नेतृत्वका लागि दाबी गरिरहेका छन् भने वर्तमान मुख्यमन्त्री आचार्यले भने निरन्तरताका लागि पार्टी नेतृत्वसँग आग्रह गरेको बताइएको छ।

एमाले : निर्णय अझै भएको छैन

एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले भने प्रदेशका मुख्यमन्त्रीबारे अन्तिम निर्णय नभइसकेको जनाएको छ। सचिवालयका अनुसार सत्ता साझेदारीको ढाँचा तय भए पनि कसलाई जिम्मेवारी दिने भन्ने विषयमा नेतृत्वस्तरमा छलफल जारी छ।

एमाले नेता प्रदीप ज्ञवालीले पनि मुख्यमन्त्री परिवर्तनको चर्चा भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्। उनका अनुसार एक साताभित्र प्रदेश सरकार गठन र नेतृत्वबारे स्पष्ट निर्णय आउन सक्छ।

कर्णाली र सुदूरपश्चिममा नेकपाको तयारी

सत्ता सहमतिअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने तयारी गरेको छ। सुदूरपश्चिममा संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको छ भने कर्णालीमा मङ्गलबहादुर शाहीको नाम लगभग टुंगिएको बताइएको छ।

यामलाल कँडेलले कर्णालीको मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। यद्यपि, नेकपाभित्र माधव नेपाल पक्षले दुवै प्रदेशमध्ये कुनैमा पनि नेतृत्व नपाएको भन्दै असन्तुष्टि जनाएको बताइएको छ।

प्रदेश सरकारको नेतृत्व परिवर्तनसँगै नयाँ सत्ता समीकरण कार्यान्वयनको चरणमा पुगे पनि अन्तिम निर्णय भने दुवै दलको शीर्ष तहको छलफलपछि मात्रै हुने देखिएको छ।

सम्बन्धित समाचार