गेटामा पढाइ सुरु नभए अनशन बस्ने मेयर गोपी हमालको चेतावनी

1.8k Shares

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) ले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु शैक्षिक सत्रदेखि पठनपाठन सुरु नभए आफू पनि अनशनमा बस्ने चेतावनी दिएका छन् ।

डडेल्धुरा जाने क्रममा डोटीको बुडरबाट भिडियो सन्देश जारी गर्दै मेयर हमालले गेटा परियोजनालाई थप अन्योलमा राख्न नहुने बताएका हुन् । विश्वविद्यालय सञ्चालनमा ढिलाइ भए सुदूरपश्चिमका नागरिकसँगै आफू पनि आन्दोलनमा उत्रिने उनको भनाइ छ ।

‘यो शैक्षिक सत्रदेखि पढाइ सुरु भएन भने म पनि अनशनमा बस्छु । त्यसका लागि सुदूरपश्चिमवासीलाई पनि साथ दिन आग्रह गर्छु,’ उनले भिडियो सन्देशमा भनेका छन् ।

मेयर हमालले आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको उल्लेख गर्दै गेटामा अस्पताल सेवा र मेडिकल शिक्षाको अध्यापन सुरु हुनु नै अहिलेको मुख्य आवश्यकता भएको बताए ।

उनले विश्वविद्यालयका पदाधिकारी को हुने भन्ने विषयभन्दा सेवा र शिक्षा सञ्चालन महत्त्वपूर्ण रहेको धारणा राखे। वर्षौंदेखिको प्रतीक्षापछि गेटाबाट चिकित्सा शिक्षा सुरु हुने अपेक्षा गरिए पनि अझै कार्यान्वयन हुन नसक्दा स्थानीयमा निराशा बढेको उनको भनाइ छ ।

‘हामीलाई पदाधिकारी को बन्छ भन्ने चासो छैन। गेटामा अस्पताल सञ्चालन होस्, मेडिकल पढाइ सुरु होस्, यही सुदूरपश्चिमवासीको चाहना हो,’ उनले भने ।

सम्बन्धित समाचार